प्रभु बैंकले मध्य ताराखोला जलविद्यत् आयोजनामा लगानी गर्ने

0
Shares

बागलुङको ताराखोलामा निर्माण हुने १.७ मेगावाट क्षमताको मध्य ताराखोला जलविद्यत् आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ।

मध्य ताराखोलाको निर्माण सम्पन्न गर्न ३४ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । त्यसमध्ये २७ करोड २० लाख रुपैयाँ प्रभु बैंकले लगानी गर्नेछ भने ६ करोड ८० लाख प्रवद्र्धक कम्पनीको स्वपूँजी लगानी हुने आयोजनाका सञ्चालक सदस्य हरिनारायण गौतमले बताए।

मध्य ताराखोला हाइड्रोपावर प्रालि र प्रभु बैंकबीच शुक्रबार लगानी सम्झौता भएको छ । लगानी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष शिव गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले आयोजनालाई तोकिएको समयमा नै पारदर्शीरूपमा सम्पन्न गर्न प्रवद्र्धकलाई आग्रह गरे। मध्य ताराखोला हाइड्रोपावर प्रालिद्वारा प्रवद्र्धित मध्य ताराखोला साना जलविद्युत् आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको गौतमले बताए।

सम्झौतामा कूल लगानीको ८० प्रतिशत बैंकले र २० प्रतिशत प्रवद्र्धक कम्पनीको स्वपूँजी लगानी हुने उल्लेख छ । कम्पनीका अध्यक्ष गिरीले आयोजना तोकिएको समयभित्रै सम्पन्न हुने र सबै प्रक्रिया पारदर्शी रुपमा गरिने बताउनुभयो । कम्पनीका प्रबन्ध सञ्चालक अनिल खड्काले लगानी सम्झौता भएकाले अब काम तीव्र रुपले अगाडि बढाइने बताए।

स्थानीयवासी धनबहादुर विक ‘हिमाल’ले आयोजना निर्माण हुनु खुशीको विषय भएको बताउँदै स्थानीयवासीको साथ र सहयोग हुने प्रतिबद्धता जनाए।

इञ्जिनीयर अनुप खड्काका अनुसार पानीको समस्या नरहेकाले यो आयोजनाको क्षमता वृद्धि गरेर २.२ मेगावाटसम्म बनाउन सकिन्छ । आयोजना बागलुङको ताराखोला गाउँपालिका–५ मा निर्माण हुँदैछ । यहाँबाट उत्पादित हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको हरिचौर सवस्टेशनमार्फत राष्ट्रिय प्रसासरण लाइनमा जोडिने छ ।