धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ ।
ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए। रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका थिए । दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् ।
ताल्ती जाने बाटो मलेखु नजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धार गरिरहेको जनाएको छ ।
बाढीका कारण निर्माण भएका केही संरचना बगाएको छ । क्षतिको आंकलन गर्न सकिएको छैन । मानविय क्षति भएको छैन । १५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महिना भएको छ । नौ महिनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो ।
प्रतिक्रिया