मस्र्याङ्दी करिडोर प्रशारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न समिति गठन

मस्र्याङ्दी करिडोर प्रशारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न समिति गठन

सरकारले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ ।

समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, गोरखाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, पालुङटार नगरपालिकका प्रमुखलगायत रहेको समिति गठन गरिएको छ ।

समितिलाई एक साताभित्र समस्या समाधान गर्ने ठोस कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ । प्रसारण लाइनबाट प्रभावित हुने हाल बन्द अवस्थामा रहेको पालुङटार विमानस्थल र प्रस्तावित स्मार्ट सिटीलाई कुनै समस्या नहुने गरी आयोजना अगाडि बढाउनुपर्ने माग उठ्दै आएको छ ।

बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइन रणनीतिक महत्वका भएकाले तोकिएको समयमै सम्पन्न गर्ने गरी सरोकार भएका सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिएको थियो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, शहरी विकासमन्त्री इस्तियाक मोहम्मद राई, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रियसभा सदस्य सुरेन्द्र पाण्डेलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ४ भदौ २०७६, बुधबार ०६ : ३१ बजे