बैंक अफ कोरिया र राष्ट्र बैंकबीच वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सहमति

0
Shares

नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ज्ञान साझेदारी कार्यक्रम (बीओके–केपीपी) कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा एक समझदारी भएको छ ।

कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता र त्यसको नीति तथा कार्यक्रमको बिषयमा अध्ययन अनुसन्धान गर्ने समझदारी भएको हो ।

समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंक, बैंक अफ कोरियाका अन्तर्रा्ष्ट्रिय मामिला विभागका डेपुटी डाइरेक्टर जनरल जी योङ जुङले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंक अफ कोरिया र युनिभर्सिटी अफ कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरताका बारेमा नीति तथा कार्यक्रम विषयमा अध्ययन–अनुसन्धान गर्नेछ । अध्ययनपछि टोलीले नेपाल राष्ट्र बैंकलाई अन्तरिम र अन्तिम (विस्तृत) गरी दुई चरणमा नीतिगत सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ ।

यस कार्यक्रमपछि नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरता अभियान विस्तारका लागि महत्वपूर्ण सुझावहरु प्राप्त हुने राष्ट्र बैंकको भनाई छ ।

बैंक अफ कोरियाले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको तेस्रो पटक हो। यसअघि समष्टिगत अर्थब्यवस्थाको प्रक्षेपण र भुक्तानीरफर्छ्योट प्रणालीको नीतिगत ब्यवस्थाका सम्बन्धमा अध्ययन अनुसन्धान गरी राष्ट्र बैंकलाई सुझाब दिएको थियो।