शेयरमा लगानी वढाउदै नागरिक लगानी कोष

0
Shares

सुरेन्द्र थापा।

गत आर्थिक बर्षदेखि शेयर बजारमा सक्रिय कारोबार सुरु गरेको नागरिक लगानी कोषले चालु आर्थिक वर्षदेखि धितोपत्रको क्षेत्रमा लगानी वढाउने भएको छ । कोषले संस्थागत रुपमा अन्य संस्थाहरुंसँग पनि मिलेर यस क्षेत्रमा लगानी वढाउने घोषणा गरेको हो ।

कोषले आर्थिक बर्ष २०७५/७६ देखि धितोपत्रको दोस्रो बजारमा सक्रिय कारोबार सुरु गरेको थियो । गत आर्थिक वर्षदेखि शेयर कारोबार सुरु गरेको कोषले २०७६ आषाढ मसान्त सम्म करिब १५ करोड लगानी गरेको कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराइले बताए । सो अवधिमा शेयर बजारको कारोबार मार्फत कोषले एक करोड ५७ लाख रुपैयाँ नाफा समेत बुक गरिसकेको भट्टराइले जानकारी दिए ।

लगानीको दायरा विस्तार गर्न तथा लगानीलाई विविधीकरण गरी लगानीको पोर्टफोलियो व्यवस्थापन गर्नका लागि कोषले विभिन्न संस्थाहरुसँग सहकार्य गरी निजी सार्वजनिक साझेदारी मोडेलका परियोजनाहरुमा लगानी गर्ने योजना अघि सारेको छ ।

संस्थागत लगानीकर्ताको रुपमा विभिन्न आयोजनाहरुको शेयर, डिवेन्चर र बण्डमा लगानी गर्ने जस्ता कार्यक्रम कोषका रहेका छन । पुँजी बजारसंग सम्बन्धित स्टक डिलरको काम गर्न पनि आवश्यक रणनीति अख्तियार गरेको अध्यक्ष भट्टराइले बताए।

कोषद्वारा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई पनि सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्ने, वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई लक्षित गरी एकांक योजना तथा अन्य उपयुक्त बचत कार्यक्रमहरु संचालन गरी पुँजी निर्माण गर्ने गर्ने समेतको योजना रहेको जनाएको छ ।

पूँजी बजारलाई गतिशिल बनाउन बजार निर्माता÷स्टक डिलरको रुपमा कार्य गर्ने संस्था स्थापना वा संचालन गर्ने तयारी भएको अध्यक्षको भनाइ छ।

२०७६ असार मसान्तसम्ममा कोषको बचत परिचालन उच्चदर वृद्धि भएको छ । २०७५ असार मसान्तसम्ममा १ खर्ब ११ अर्ब ७३ करोड रहेको कोष संकलन २०७६ असार मसान्तसम्ममा १०.२३ प्रतिशतले वृद्धि भई.१ खर्ब २३ अर्ब १६ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ ।

२०७५ असार मसान्तसम्ममा कोषले विभिन्न क्षेत्रमा गरी १ खर्ब ६ अर्ब ९७ करोड ६२ लाख रुपैयाँ लगानी गरेको थियो भने २०७६ असार मसान्तसम्ममा यस्तो लगानी अघिल्लो वर्षको तुलनामा १६.७४ प्रतिशतले वृद्धि भई १ खर्ब २४ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ पुगेको कोषले जानाएको छ ।

कोषको बैंक तथा वित्तीय संस्थामा रहेको मुद्दती निक्षेप मध्ये समस्याग्रस्त भएका बैंक तथा वित्तीय संस्थामा रहेको कोषले उठाउन बाँकी ४२ करोड ६६ लाख रकम मध्ये आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ३४ लाख उठाउन सफल भएको छ भने बाँकी रकम असुल उपर गर्न प्रयास हुने उनले बताए ।