रैराङ हाइड्रोको उत्पादन सुरु, केन्द्रीय प्रसारणमा जोडियो ९.९ मेगावाट विद्युत

0
Shares

ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित ९.९ मेगावाट क्षमताको रैराङ हाइड्रो पावरले औपचारिक उत्पादन थालेपछि उक्त आयोजना बाट उत्पादिन विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

एक महिना परीक्षण गरेपछि काबेली करिडोरको अमरपुर सब स्टेसनमार्फत उक्त आयोजनामा उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो।

आयोजनाबाट उत्पादन भएको विद्युत् ३३ केभीएको प्रसारण लाइनमार्फत काबेली ‘बी वान’ को आयोजनास्थल (३.५ किलोमिटर) मा ल्याएर त्यहाँबाट काबेली ‘बी वान’ बाट उत्पादन हुने विद्युतसँगै संयुक्त ट्रान्समिसन लाइन (५ किमि) मार्फत काबेली करिडोरको थापाटार सबस्टेसनमा र्पुयाएर केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाले प्रभावित जिल्ला ताप्लेजुङ र पाँचथरका सर्वसाधारणका लागि १० प्रतिशत शेयर बिक्री गरिसकेको छ । त्यस्तै, उक्त आयोजनामा १५ प्रतिशत सर्वसाधारणको, २५ प्रतिशत रिडी हाइड्रो पावर कम्पनीको र ५० प्रतिशत भने सञ्चालक तथा संस्थापक शेयर धनीको लगानी छ।

आयोजनाले पाँचथर र ताप्लेजुङको प्रभावित क्षेत्रका स्थानीयलाई ग्रामीण विद्युतीकरणका लागि ४० लाख रुपैयाँ बराबरको पूर्वाधारमा सहयोग गरेको छ भने स्थानीय मोटरबाटो, विद्यालयहरूमा सहयोगलगायत सामाजिक उत्तरदायित्वका कामसमेत गरिसकेको जनाएको छ ।