‘शेयरमा लगानी गर्ने सहि समयमा आएका छौं, लगानीकर्तालाई उचित प्रतिफल दिनेछौं’ : सिईओ सनराइज क्यापिटल

0
Shares

सनराइज क्यापिटलको व्यवस्थापनमा संचालनमा आउन लागेको ‘सनराइज फस्ट म्युचुअल फन्ड’ ले शेयर बजारमा द्धिर्घकालिन सोचका साथ लगानी गर्ने बताएको छ ।

असोज ८ गते बुधबारदेखि एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई (युनिट) को बिक्री खुला गर्न लागेको फण्डले मंगलबार पत्रकार सम्मेलन गर्दै शेयर बजारमा लगानी गर्ने सहि समयमा फण्ड संचालन गर्न लागिएको उल्लेख गर्दै यसका लगानीकर्तालाई उचित प्रतिफल दिने दाबी गरेको छ।

फण्ड बारे जानकारी दिँदै सनराइज क्यापिटलका प्रमुख कार्यकारी विजय लाल श्रेष्ठले भने, ‘शेयर खरिदका लागि राइट टाइम कहिले हो भन्ने कुरामा सबै अन्यौलमा छन् । सनराइज म्युचल फण्ड दश वर्षका लागि हो । लङटर्म रुपमा लगानी गर्न सकिन्छ । हामी यो आज किनेर भोली विक्रि गर्ने भन्दा पनि लङटम रुपमा लगानी गर्ने हो।’ 

द्धिर्घकालिन सोचका साथ शेयर बजारमा लगानी गर्ने उदेश्य राखेको यस फण्डले लगानीकर्तालाई बार्षिक २४.२९ प्रतिशत प्रतिफल र औषत बार्षिक १४ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ ।

‘बजार अब धेरै घट्ने स्थानमा छैन । आज घट्ला, भोली घट्ला तर लङटममा बजार माथि नै जाने हो । हामी औषतमा वार्षिक १४ प्रतिशतसम्म लाभांश दिनेगरी अगााडि बढेका छौँ । हामी नर्मल रुपमा नभएर बजारको समग्र विश्लेषण गरेर शेयर किन्छौँ ।’  श्रेष्ठले भने ।

सनराइज फन्डले कुल निष्काशन गर्न लागेको१० करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने सनराइज क्यापिटलले जनाएको छ ।

असोज ८ देखि बिक्री खुला हुने ‘सनराइज फस्ट म्युचुअल फन्ड मा असोज १२ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ७ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।

जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । प्रतिइकाईको मूल्य १० रुपैयाँ रहेको छ । लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरी काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।