सिन्धुपाल्चोक बस दुर्घटनाबाट मृत्यु भएका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

0
Shares

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ ।

दशैँ मनाउन गाउँ गएका यात्री राजधानी फर्कने क्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो।

केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए । ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले घाइतेको उपचारका लागि आफ्नोतर्फबाट सकेसम्मको सहयोग गर्ने र कुनै कमी हुन नदिने बताए।

घाइतेलाई पूर्वमन्त्री बस्नेतको सहयोग

पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेका छन्।

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि ५० हजार आर्थिक सहयोग गरेका हुन्।

पूर्वमन्त्री बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उक्त सहयोग गरेका हुन्। “तत्कालका लागि ५० हजार आर्थिक सहयोग गरको हुँ, आवश्यक परे आगामी दिनमा पनि सहयोग गर्नेछु”, पूर्वमन्त्री बस्नेतले भने। सिपाटारबाट काठमाडौँ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु र दर्जनौँ यात्रु घाइते भएका थिए ।

बालबालिकालाई निःशुल्क पढाउने

यसैबीच, पूर्वमन्त्री बस्नेतले दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठन गराउने बताएका छन् । घाइतेलाई भेट्ने क्रममा उनले दुर्घटनामा परेर अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गरेका हुन्। बस्नेत सोही क्षेत्रबाट निर्वाचित भएर मन्त्री समेत बनेका थिए।