आर्थिक कूटनीतिमा लाग्न राजदूतहरुलाई परिसङ्घको सुझाव

0
Shares

नेपाल उद्योग परिसङ्घले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्य बढाउनुपर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नुभएका नेपाली राजदूतसँग आग्रह गरेको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल र स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासँग कार्यभार सम्हाल्न जानुअघि आज अन्तक्र्रिया गर्दै परिसङ्घले सफल कार्यकालको शुभकामनासमेत दिएको हो ।

सो अवसरमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले आफ्नो संस्थाले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको र देशको आर्थिक विकासको मेरुदण्ड मानिने लगानी तथा पर्यटन प्रवद्र्धनका लागि आर्थिक कूटनीतिमा अब्बल रहनुपर्नेमा जोड दिए।

नेपाललाई अन्तरराष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्ने तथा लगानीका प्रमुख क्षेत्र पूर्वाधार, जलविद्युत्, पर्यटन, आधुनिक कृषि तथा सञ्चार प्रविधिलगायतका क्षेत्रमा लगानी तथा साझेदारी बढाउन सम्बन्धित देशको सरकार र लगानीकर्तासँग सम्बन्ध अझ विस्तार गर्न राजदूतावासको थप सक्रियता रहेको उनको भनाइ थियो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले व्यावसायिक क्षेत्र तथा सङ्घसंस्थाबीच संस्थागत सम्बन्ध विस्तार, लगानीकर्ताको भ्रमण आदान प्रदान तथा प्राविधिक शिक्षामा सहकार्य बढाएर दक्ष जनशक्ति निर्माणमा भूमिका खेल्ने कुरालाई प्राथमिकतामा राखेको बताए।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले पनि स्पेनबाट नेपाल आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको र यसलाई बढाउन थप पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक सम्बन्ध विस्तार गर्न ध्यान दिने उल्लेख गर्नुभएको परिसङ्घले जनाएको छ ।