‘दिगो र सुरक्षित संरचना समयमै बनाऊँ’ :उपराष्ट्रपति पुन

0
Shares

उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभएको छ । इन्जिनीयर तथा आर्किटेक्चर संस्थाहरुको सङ्गठन (स्क्याफ) ले आयोजना गरेको ‘उज्ज्वल भविष्यका लागि उत्थानशील पूर्वाधार’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक बनाउन सरकार, इन्जिनीयर र निर्माण व्यवसायी तिनै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएको केही दिनमै संरचना किन भत्किन्छन् ? कसलाई खुसी पार्न निर्माणमा सम्झौता गरिएको हो ? यसरी मुलुकको विकास हुँदैन, भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।”

उपराष्ट्रपति पुनले भूकम्पपछिको पुनर्निर्माणले लक्षित गति लिन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनता अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै मुलुकको पहिचान बोकेका सम्पदा पुनर्निर्माणका लागि विदेशी सहयोग कतिको उपयुक्त हुने हो भन्ने प्रश्नसमेत गर्नुभयो ।

तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘रेजिलियन्ट इन्फ्रास्ट्रक्चर’ को महत्व र यसका विविध पक्षका बारेमा प्रस्तुति राखेका थिए। कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले विभिन्न कठिन परिस्थितिका बाबजुद पनि अन्य मुलुकको तुलनामा नेपालले पुनर्निर्माणमा सन्तोषजनक प्रगति गरेको दाबी गरे। उनले अझै सिक्न अर्को विपद् कुर्न नहुने भन्दै विपद् प्रतिरोधी संरचना बनाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताए।

स्क्याफका अध्यक्ष राजेश थापाले भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको नेपालले अब विपद् जोखिम न्यूनीकरण र पुनर्लाभका अनुभव अन्तर्राष्ट्रिय समुदायलाई दिनसक्ने अवस्थामा रहेको बताए। उनले दिगो र सुरक्षित संरचना निर्माणका लागि राष्ट्रिय अनुभव दिन र अन्तर्राष्ट्रिय नवीनतम् प्रविधि भित्र्याउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे।

सम्मेलनमा नेपालसहित भारत, चीन, कोरिया, श्रीलङ्कालगायत १० देशका इन्जिनीयर, व्यवसायी, सरकारी अधिकारी तथा विज्ञहरुको सहभागिता रहेको स्क्याफका महासचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए।