औद्योगिक प्रशिक्षार्थी आदानप्रदान गर्न जापान तयार

0
Shares

जापानले औद्योगिक प्रशिक्षार्थी आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताएको छ ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल उद्योग परिसङ्घका पदाधिकारीबीच भएको छलफलमा राजदूत साइगोले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा सहकार्य गर्न तयार रहेको बताए । उनले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताएका थिए ।

सो अवसरमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल र जापानबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

जापानको आर्थिक तथा व्यावसायिक विकासबाट नेपालले सधै लाभ लिइरहेको र यसलाई थप विस्तार गर्न जापानको लगानी बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्न परिसङ्घ तयार रहेको उनको भनाइ थियो । अध्यक्ष मोरले जापानमा औद्योगिक परीक्षार्थी आदान प्रदान गर्ने सन्दर्भमा सहकार्य गर्न सकिने बताएको परिसङ्घले जनाएको छ ।