सामाजिक सुरक्षा योजनामा तीन महिनाभित्र थप १५ हजार रोजगारदातालाई आबद्ध गराइने

0
Shares

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी तीन महिनाभित्र थप १५ हजार रोजगारदाता र एक लाख मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने घोषणा गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफ्नो कार्यकालको एक महिने समीक्षा गर्दै उक्त घोषणा गरेका हुन् ।

तीन महिना अवधिमा समाजिक सुरक्षा योजनामा सामेल गराउन मन्त्री यादवले लिएको रोजगारदाताहरुको लक्ष्य योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजना सञ्चालन भएको एक वर्ष अवधिमा आबद्ध भएका संस्थाभन्दा धेरै हो।

त्यस्तै आर्थिक क्षेत्रका आधारमा उद्योग प्रतिष्ठानहरुको वर्गिकरणगरी रोजगारदात र श्रमिक समेतको सहभागितामा विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताएका छन् ।

साथै उनले आगामी ३ महिनाभित्र कम्तिमा ६० हजार बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्न स्थानीय तहहरुबाट रोजगार आयोजना संचालन गरीने समेत बताए ।

उनले रोजगारीमूलक सीप विकास तालिम प्रदान गर्न निजीक्षेत्रसँगको साझेदारीमा कार्यस्थलमा आधारित एप्रेन्टिसिप तालिम संचालन गर्ने तथा सीप प्रदर्शनी तथा प्रतिस्पर्धा कार्यक्रम संचालन गर्ने जानकारी दिए ।

यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा अगंभंग भएका र मृत्यु भएका व्यक्तिको हकवालले स्थानीय स्तरबाटै सुविधा पाउने व्यवस्था गर्ने, प्रधानमन्त्री रोजगारीमा खटिने श्रमिकको बीमा गर्ने घोषणा गरेका छन् ।

मन्त्री यादवले वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउने, बीमा र कल्याणकारी कोषवापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

२०७५ मंसिर ११ गतेदेखि शुभारम्भ गरिएको यस योजनामा पुस २१ गतेसम्म ७४ जिल्लाबाट ११ हजार ९८० रोजगादाता संस्थाका एक लाख ३५ हजार ७९३ योगदाकर्ता (श्रमिक) आबद्ध भएका छन्। यस अवधिमा कोषले ३९ करोड ६५ लाख ४ हवार ४०४ रुपैयाँ संकलन गरेको छ भने तीन परिवारले आश्रित सुरक्षा दाबी लिएका छन्।