नेपाल ब्राण्ड चिनाउन अमेरिकामा ब्रान्ड स्टोरी’ को नयाँ ‘शो’

0
Shares

नेपालमा स्थापित ‘ब्रान्ड’ लाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्ने उद्देश्यले अमेरिकी मिडिया ‘बिएल मिडिया एइएनसी डटकम’को नेपाली संस्करण ‘ब्रेङकन लिङ्क’ले ‘ब्रान्डिङ’को क्षेत्रमा एउटा नयाँ ‘शो’ सञ्चालन गरेको छ।

‘ब्रान्ड स्टोरी’ नाम दिइएको यस शोमा नेपाली ब्रान्डहरूको समग्र जीवन कथा भनिनेछ। त्यसमा ब्रान्ड कम्पनी पनि हुन सक्छ वा कुनै कम्पनीको उत्पादन वा सेवामात्र पनि हुन सक्छ। यसमा ब्रान्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्रान्डको कथा भन्नेछन्। ब्रान्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के कस्ता उतारचढावहरू आए, कसरी त्यसको ब्रान्डिङ गरियो? यी सबैको उत्तर त्यस कथामा हुनेछ”, शोको परिकल्पनाकार मुना श्रेष्ठले भने।

सोही अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुधबार सो कार्यक्रमको शुभारम्भ गर्दै बिएल मिडिया आफैैँमा एउटा ‘ब्रान्ड’ भएको बताए।

उनले भने “अरू मिडियाले नेपाली र अङ्ग्रेजीमा समाचार सम्प्रेषण गर्दै आइरहेका छन्, बिएल मिडियाले छ वटा अन्तर्राष्ट्रिय भाषामा समाचार सम्प्रेषण गर्न लागेको छ, यो आफैँमा एउटा ब्रान्ड भयो।”

मन्त्री बाँस्कोटाले ‘ब्रान्डिङ’ आफैँमा एउटा नौलो सृष्टि भएकाले त्यो प्राकृतिक कुरासँग पनि जोडिने बताउँदै खाली बजारसँग जोडिने कुराको मात्र नभई प्रकृतिसँग जोडिएको कुराको पनि ब्रान्डिङ गर्न आग्रह गरे।

उनले बिएल मिडियाले विभिन्न भाषामा समाचार सम्प्रेषण गरेर नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न खोजेकामा शुभकामना समेत व्यक्त गरे। “हाम्रो देशको विकासलाई पनि ब्रान्डिङ गर्नु जरुरी छ”, मन्त्री बाँस्कोटाले भने।

बिएल मिडिया ६ महिनाअघि स्थापना भएको थियो, यसको नेपाली र अङ्ग्रेजी भाषाको वेबसाइट शुभारम्भ भइसकेको छ, हिन्दी भाषाको संस्करण आउँदो महिनादेखि भारतको मुम्बईबाट सञ्चालन हुनेछ भने चिनियाँ, उर्दू र स्पेनिस भाषाबाट दुई महिनाभित्र सञ्चालनमा आउने सो अवसरमा जानकारी दिइयो ।