उर्जामन्त्री पुनद्धारा जलवायु परिवर्तनले जलविद्युतमा थपिएको चुनौतीमाथि विश्व समुदायको ध्यानाकर्षण

0
Shares

ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको असरका कारण जलविद्युत् क्षेत्रमा नयाँ चुनौती खडा भएको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।

शनिबारदेखि संयुक्त अरब इमेरेट्स (युएई) को अबुधावीमा शुरु भएको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घ (आइरेना) को १० औँ वार्षिक सम्मेलनलाई सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पुनले दीर्घकालीन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यानकर्षण गराए।

आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको बताउँदै उनले हाल एक हजार ३२६ मेगावाट राष्ट्रिय ग्रीडमा रहेको र दुई हजार ५०० मेगावाट क्षमताका विद्युत् आयोजना र ६०० मेगावाटको सौर्य ऊर्जा निर्माण क्रममा रहेको जानकारी दिए।

नेपालको कुल ८८ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको जानकारी दिँदै मन्त्री पुनले त्यसमध्ये करिब १० प्रतिशत योगदान नवीकरणीय ऊर्जा (लुघजलविद्युत् आयोजना, सोलार) बाट भएको उल्लेख गरे।

उनले नवीकरणीय ऊर्जाका क्षेत्रमा आइरेनाको अर्थपूर्ण सहयोगको अपेक्षा गर्दै थप लगानी, सुलभ र पहुँचयोग्य प्रविधिमा विशेष ध्यान दिन आग्रह गरेका ऊर्जामन्त्रीको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

प्रभावकारी र नतिजा उन्मुख योजना निर्माण तथा बजेट तय गर्न सम्मेलन सक्षम हुने विश्वास व्यक्त गर्दै उनले सम्मेलन पूर्ण सफलताको कामना गरेका थिए। विश्वका ११० भन्दा बढी मुलुकका ऊर्जामन्त्री सहभागीता रहेको सो सम्मेलनमा नेपालबाट ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ।