टिभि खोल्ने लहर, नमस्ते ख्वप टेलिभिजनको भयो उद्घाटन

टिभि खोल्ने लहर, नमस्ते ख्वप टेलिभिजनको भयो उद्घाटन

भक्तपुरको गठ्ठाघरमा बिहीबारदेखि विधिवत् रूपमा नमस्ते ख्वप टेलिभिजन सञ्चालनमा आएको छ । उक्त टेलिभिजनको महिला बालबालिकामन्त्री पार्वत गुरुङले उद्घाटन गरेका हुन्।

सो अवसरमा मन्त्री गुरुङले दुई दशकदेखि पत्रकारिता र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय समाचार समिति भक्तपुर संवाददाता, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष एवं साहित्यकार रमेश गिरी र चार दशकदेखि योगदान पु¥याउनु हुने शिक्षासेवी एवं आदर्श जनप्रेमीका संस्थापक रवी आचार्यलाई सम्मान गरिन्।

मन्त्री गुरुङले स्थानीय सरकारले विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको अवस्थामा सबै सञ्चार माध्यम, पत्रकार एवं सबै नेपालीले विकासका लागि काम गर्नुपर्ने बताइन्। भक्तपुरलाई विश्वमा चिनाउन ख्वप टेलिभिजन सफल हुने विश्वास उनले व्यक्त गरिन्।

सांसद महेश बस्नेतले सञ्चार माध्यम समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहनुपर्नेमा जोड दिए। उनले भक्तपुरमा नमूनाको रुपमा भइरहेको विकासलाई टेलिभिजनमार्फत विश्वभर फैलाउने काममा नमस्ते ख्वप टेलिभिजनको भूमिका महत्वपूर्ण हुने बताए।

बागमती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ र शशीजङ्ग थापाले पत्रकारिता पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकार व्यावसायिक बन्न नसक्दा मर्यादित पत्रकारिता प्रभावकारी हुन नसकेको बताए।

नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले नमस्ते ख्वप टेलिभिजन भक्तपुरको मात्र नभइ सिङ्गो देशको दर्पणको रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भ्रमण वर्षकै अवसरमा उपत्यकाका मेयर फोरमले अन्तरराष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्न लागेको बताए।

प्रकाशित मिति: २ माघ २०७६, बिहीबार १८ : १७ बजे