कुमारी बैंकको ऋणपत्र हालसम्म कति बिक्यो ?

0
Shares

कुमारी बैंकले पुस १४ गते निष्काशनमा ल्याएको ऋणपत्रमा माघ ३ गते शुक्रबारसम्ममा ४ करोड ७२ लाख ९२ हजार रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

बैंकको डिबेञ्चर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलका अनुसार ३०० आवेकदनबाट ४७ हजार २९२ कित्ता माग भएको हो। बैंकले एक हजार रुपैयाँ अंकित दरमा कूल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गरेकोमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्रीमा ल्याएको थियो। बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

दश वर्ष भुक्तानी अवधि भएको बैंकको उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी हुने बैंकले जनाएको छ ।
ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलबिबिबि प्लस’ रेटिङ्ग प्रदान गरेको छ। ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जनाएको छ।

ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ। ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन गर्न पाउनेछन्। ऋणपत्रमा आवेदन दिने अन्तिम दिन माघ १४ गते रहेको छ।