बैंकहरुको बोर्डमा पूर्व-सीईओ भित्र्याउने क्रम जारी, ग्लोबलमा गए देबेन्द्रप्रताप

0
Shares

पछिल्लो समय प्रमुख कार्यकारी अधिकृतबाट सेवा निवृत्त भएका पूर्व-सीईओहरुलाई धमाधम बैंकको बोर्डमा भित्र्याउने क्रम बढ्न थालेको छ।

ग्लोबल आईएमई बैंकको माघ १० गते सम्पन्न सञ्चालक समितिको ३३७ औं बैठकले कृषि विकास बैंक र नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका देवेन्द्रप्रताप शाहलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

दुई सरकारी बैंकको सीईओ तथा बैंकिङ्ग क्षेत्रमा तीन दशक बढीको कार्यअनुभव संगालिसकेका शाहलाई ग्लोबलले आफ्नो बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा भित्र्याएको हो।

यसअघि अन्य आधा दर्जन वाणिज्य बैंकहरुले पूर्व प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका व्यक्तिलाई आफ्नो बोर्डमा भित्र्याइसकेका थिए। यसरी पूर्व सीईओहरुलाई बोर्डमा भित्र्याउने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक, मुक्तिनाथ विकास बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, नबिल बैंक र बैंक अफ काठमाण्डू रहेका छन्।

जसमध्ये तीन बैंकमा त अहिले पनि पूर्व प्रमुख कार्यकारी अधिकृतहरु नै बैंकको बोर्ड अध्यक्ष समेत रहेका छन्। नेपाल इन्भेष्टमेण्ट बैंक, सिटिजन्स बैंक र मुक्तिनाथ विकास बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुले नै बैंक अध्यक्ष भएर बैंक हाँकिरहेका छन्।

कुन-कुन बैंकमा को-को बने सञ्चालक ?

पछिल्लो समय प्रमुख कार्यकारी अधिकृतबाट निवृत्त भएकामध्ये हालसम्म आठ संस्थामा पूर्व प्रमुख कार्यकारी अधिकृतहरु बोर्ड सञ्चालक समिति सदस्यको रुपमा भित्रिएका छन् ।  चार जनाले त सञ्चालक समिति अध्यक्षको जिम्मेबारी सम्हालेका छन्। एक फाइनान्स, एक विकास बैंक र दुई वायिाज्य बैंकमा बोर्ड अध्यक्षको भुमिकामा रहेका छन् ।

यसरी बैंकको बोर्ड अध्यक्षमा रहेकोमध्ये नेपाल इन्भेष्टमेण्ट बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका पृथ्बीबहादुर पाँडेको नामा आउँछ । पहिला कार्यकारी अध्यक्ष तथा सीईओ दुबै भुमिका निर्वाह गरेका उनी बैैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले सञ्चालक समितिमा बसेको व्यक्तिलाई व्यवस्थापनमा समेत रहेर दोहोरो भुमिका निर्वाह गर्न नपाउने व्यवस्था गरेपछि बैंकको सञ्चालक समितिको अध्यक्ष छन्।

यसैगरि सिटिजन्स बैंकमा २ कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका राजनसिंह भण्डारी केही समयको विश्राम पछि सोही बैंककै सञ्चालक समिति अध्यक्षका रुपमा पुन सटिजन्स बैंकमा फर्केका छन्।  यसैगरि मुक्तिनाथ विकास बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघको अध्यक्ष समेत भईसकेका भरतराज ढकाल झण्डै वर्षपछि पुन मुक्तिनाथ विकास बैंकमा नै सञ्चालक समिति अध्यक्षको रुपमा उदाएका छन् ।

यस्तै सिभिल बैंकमा २ कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृत भएका किशोर महर्जन सेवा निवृत्त भएपछि प्रोग्रेशिभ फाइनान्सको सञ्चालक समिति अध्यक्ष छन्। यसअघि ग्लोबल आईएमई बैंकले नै राष्ट्रिय वाणिज्य बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मालाई सञ्चालकमा नियुक्त गरेको थियो। सिटिजन्स बैंकले लक्ष्मी बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलाई स्वतन्त्र सञ्चालको रुपमा बैंकमा भित्र्याएको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका एनएमबि बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल अहिले नबिल बैंकमा सञ्चालक छन्। कुमारी बैंक तथा बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत भैसकेका राधेश पन्त अहिले बैंक अफ काठमाण्डूको सञ्चालक छन्।

व्यवस्थापनमा रहेर सञ्चालक समितिमा समेत प्रतिनिधित्व गर्ने विगतको अभ्यासलाई कानुनी रुपमा निषेध गरिए पछि व्यवस्थापनबाट निबृत्त भइ सञ्चालक बन्ने क्रम बढेको हो । सञ्चालक समितिले तर्जुमा गर्ने योजनाको कार्यान्वायन प्रमुख कार्यकारी अधिकृतहरुले गराउँछन।

विगतमा आफैंले योजना बनाएर आफैं कार्यान्वायनमा सक्रिय हुने गरेकोमा अहिले भने कार्यान्वायन गराउने अभ्यासमा पोख्त भएर योजना तर्जुमा गर्ने स्थानमा बैंकरहरु आकर्षित हुन थालेका हुन् ।

प्रमुख कार्यकारीले एउटा संस्थामा २ कार्यकालभन्दा बढी समय बिताउन नपाउने व्यवस्था छ। यो व्यवस्थासँगै सञ्चालक समितिको निर्देशन कार्यान्वायन गराउनेहरु अहिले आफैं व्यवस्थापनलाई निर्देशन दिने ठाउँमा पुग्न थालेका हुन्।

प्रमुख कार्यकारी अधिकृतको भुमिकामा बैंक हाँकेका व्यक्ति सञ्चालक हुँदा संस्थालाई अघि बढाउन सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकको नै बुझाई छ।