अर्थमन्त्रीको हाउगुजी फैलाएर सस्तो मूल्यमा शेयर उठाउने खेलले नेप्सेमा पहिरो

0
Shares

पछिल्लो तीन महिना यता निरन्तर बढ्दै गएको शेयर बजारमा केहि दिन यता उच्च उतारचढाब देखिन थालेको छ । बढेको बजारमा शेयर बेचेर नाफा सुरक्षित गरेका ठुला लगानीकर्ताहरुले विभिन्न हौवा फैलाएर सस्तो मूल्यमा शेयर उठाउने खेलमा लाग्दा बजारमा तीब्र उतारचढाब देखिएको हो।

विश्वभर फैलिदो क्रममा रहेको कोराना भाइरसको कारण आयात निर्यातको कारोबार प्रभावित हुँदा शेयर बजारमा लगानीगर्नेहरु बढेको थिए। वित्तीय क्षेत्रमा तरलताको संकुचन हुँदा अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा अल्पकालिन लगानीकर्ताहरु शेयर बजारमा प्रवेश गर्दा बजार पछिल्लो तीन महिनमा चार सय अंक माथि पुगिसकेको थियो।

बजारले छोटो समयमै छलाङ मारेपछि शेयर बेचर नाफा सुरक्षित गरेकाहरुले बजार प्रवेश गर्ने नयाँ विन्दु खोज्न विभिन्न हल्लाहरु फैलाउने गरेका छन् । बुधबारको बजारमा पनि अर्थमन्त्रीमा पुन नियुक्त भएका डा. युवराज खतिवडाको हाउगुजी फैलाएर सस्तो मूल्यमा शेयर उठाउने खेल हुँदा शेयर बजारमा पहिरो चलेको छ ।

पछिल्ला केहि दिनका कारोबार हेर्दा बजार छिनभरमै ह्वात्तै बढ्ने र घट्ने गरेको छ। ठुला खेलाडिहरु बजार घटाएर शेयर उठाउने ध्यानमा लाग्दा बजारमा यस प्रकारको घटबढ हुने गर्छ । उच्च वृद्धि र उच्च गिरावट बजारका लागि सधै घातक हुने गरेको देखिन्छ ।

बुधबार नेप्से सूचक ६८.४७ अंकले घटेर १४४१.२० अंकमा झरेको छ। यसदिन बजारमा १७४ कम्पनीको २ अर्ब ९० करोड बढीको शेयर किनबेच भएको छ । बजारमा उतारचढाब देखिएपनि पछिल्लो समयमा कारोबार रकमले भने बजारलाई साथ दिदै आएको छ ।

बुधबार शेयर बजारमा पनि अधिकांस लघुवित्त कम्पनीहरुको शेयर मूल्यउच्चदरले घटेको छ । राष्ट्र बैंकले लाभांश वितरणमा केही कडाई गरेपछि यसको प्रभाव लघुवित्तको शेयरमा देखिएको हो।