काठमाडौं भ्युटावरका फरार ठेकदार भेटवालद्वारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं भ्युटावरका फरार ठेकदार भेटवालद्वारा प्रहरीमा आत्मसमर्पण

काठमाण्डौंको पुरानो बसपार्कमा निमार्णाधिन काठमाडौं भ्युटावर निर्माणको जिम्मा पाएका स्वच्छन्द जलेश्वर विकोई विल्डर्सका सञ्चालक मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।भेटवाल ‘क’ वर्गका ठेकदार हुन्।

७५ लाख रुपैयाँ ठगी गरेको भन्दै चन्द्र तामाङले प्रहरीमा भेटवालविरुद्ध किटानी जोहरी दिएका थिए। भेटवालले दिएको ७५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीबिरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको थियो । उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

अदालतको आदेशपछि खोजी तीब्र पारेको प्रहरी समक्ष मंगलबार भेटवालले आत्मसमर्पण गरेका हुन् । महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

यसअघि उनी भागेर भारतमा लुकेर बसेका थिए । २३ रोपनी जग्गा, सात अर्ब ६४ करोड रुपैयाँको लागतमा निमार्ण हुने भ्युटावर ठेक्का पाएर २०७१ फागुन २२ बाट काम थालेपनि हालसम्म ५ प्रतिशत काम पनि सम्पन्न हुन सकेको छैन। भ्यु टावर निमार्ण गर्न ल्याएको उपकरणको भाडा तिर्न नसकेपछी पछिल्लो समय साहु कम्पनीले ती उपकरण समेत फिर्ता लगेको थियो।

उनी यसअघि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार १४ : ५१ बजे