कोरोनाको त्रासले बैंकहरु बन्द गर्नुपर्ने अवस्था छैन : राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्नुपर्ने अवस्था नरहेको प्रष्ट  पारेको छ ।

सरकारले बुधबार कोरोना भाइरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार बन्द गर्ने निर्णय गरेपछि बैंकहरु समेत बन्द हुने हल्लाहरु चल्न थालेपछि नोटबजारको जिज्ञासामा राष्ट्र बैंकले बैंकहरु बन्द गर्नुपर्ने अवस्था नआउने प्रष्ट पारेको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बैंकहरुमा अन्य क्षेत्रमा जस्तो ठूलो भीड नहुने र अन्य क्षेत्र बन्द हु्ँदा बैंकिङ्ग कारोबारमा चाप कम हुने भएकाले बैंकहरु बन्द गर्नु नपर्ने प्रष्ट पारे। बैंकहरुले पनि कोरोना भाइरस संक्रमण फैलन नदिन स्यानिटाइजरको प्रयोग लगायतका सावधानी अपनाइरहेको समेत उनले बताए। राष्ट्र बैंकले बैंकहरु बन्द गर्ने बारेमा सोचेको छैन तर सरकारको निर्देशन भएमा बन्द हुनसक्छ, उनले भने।

सरकारले बुधबार साँझ अत्यावश्यक कामका बाहेक आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको छ। सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय समेत गरेको छ।