सीमामा अड्किएका नेपालीलाई स्वदेश भित्रने अन्तिम मौका, क्वारेन्टाइन अनिवार्य

0
Shares

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न आज एक दिनको समय दिइएको छ । तर, उनीहरु १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने सरकराले जनाएको छ ।

यसका लागि स्थानीय प्रशासन, प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टाइनको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड–१९ को जोखिम रहेकाले मुलुकमा जथाभावी मानिस प्रवेश गर्दा र हिँडडुल गर्दा रोग फैलनसक्ने खतरालाई मध्यनगर गरी सरकारले आज बिहान ६ बजेदेखि लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको थियो । चैत १८ गते विहान ६ बजेसमम उक्त आदेश लागु हुनेछ ।

“आफु पनि सुरक्षित रहुँ र अरुलाई पनि सुरक्षित राखौँ भन्ने मनसायका साथ सरकारले आव्हान गरेको हो, आजको सुरक्षा अबस्था र सीमामा भइरहेको गतिविधिको बैठकमा समीक्षा पनि भयो, नागरिकको साथ छ भन्ने निष्कर्ष छ”, बैठकपछि मन्त्री खतिवडाले भने ।

उनले पूर्वसूचना नपाएर वा अन्य कारणले यात्रा कायमै राखेर आएका नेपाली दक्षिणी सीमा क्षेत्रमा बसेको जानकारी आएकाले बीच बाटोमा अलपत्र नपरुन् भनेर आज अन्तिम पटक एक दिनका लागि आउन खुला गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । उनीहरुलाई नेपाली हो भन्ने परिचय पत्र हेरेर मात्रै छाडिने छ ।

कतिपय स्वास्थ्य उपकरणहरुको स्थानीय बजारमा आपूर्ति नभएको अबस्थामा अन्तर्राष्ट्रिय बजारबाट छिटो ल्याउनुपर्ने आवश्यकता महसुस गरी सरकारले निजी क्षेत्रबाट ल्याउन आव्हान गर्ने निर्णय पनि गरेको छ । आपूर्तिलाई सहज बनाउन उक्त निर्णय गरेको मन्त्री डा. खतिवडाले बताए ।