नेपालमा पाँचौं व्यक्तिमा कोरोना पुष्टि, बेल्जीयमबाट आएकी १९ वर्षीया युवती

0
Shares

नेपालमा पाँचौं व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको जानकारी दिए।

उनी चैत्र ४ गते क्युआर ६५२ विमानमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। यसअघि फ्रान्सबाट कतार हुँदै आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएको थियो। उनी अहिले टेकु अस्पतालमा उपचाररत छिन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा उनीमा कोभिड १९ पोजिटिभ भेटिएको उनले बताए। प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।

यसअघि नेपालमा चार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जस मध्ये एक जनाको उपचारपछि निको भईसकेका छ भने ३ जनाको उपचार भईरहेको छ ।