ओली–प्रचण्डबीच विपन्नलाई राहत दिने विषयमा छलफल

ओली–प्रचण्डबीच विपन्नलाई राहत दिने विषयमा छलफल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कोडिभ–१९ को सङ्क्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिने विषयमा छलफल भएको छ ।

बुधबार प्रधानमन्त्री निवासमा भएको उक्त छलफलमा गरिब, किसान, मजदूर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा गहन संवाद भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा उहाँहरुबीच कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिकाटिप्पणीका बारेमा पनि कुराकानी भएको थियो । यस्तै नेपाल र भारत दुवै मुलुकले लकडाउन गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: २० चैत २०७६, बिहीबार ०९ : २१ बजे