साईबर फ्रड सक्रिय हुँदै, बैंकहरुको आग्रह ‘व्यक्तिगत पिन शेयर नगरौं’

0
Shares

महामारीको रुपमा विश्वभरी ब्यापक फैलिएको कोरोना भाइरसका कारण अधिकांश मुलुकमा संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको अवस्था छ । यस्तो अवस्थामा बैंकहरुले इन्टरनेटमा आधारित बैंकिङ सेवामा जोड दिएको अवस्था छ ।

नेपाल राष्ट्र बैंकले समेत विद्युतीय कारोबारमा जोड दिएको हुदाँ बैंक वित्तीय संस्थाले पनि त्यसलाइ अनुशरण गरेका छन्।

ग्राहकको सहजताका लागि बैंक वित्तीय संस्थाले प्रदान गरेको इन्टरनेट, मोवाइल तथा विद्युतीय भुक्तानीमा ह्याकरहरु सक्रिय भएको हुनाले ग्राहकलाइ होसियार रहन आवश्यक रहेको छ । यस्तो विषम परिस्थितीमा अपराधीहरुले अवसरको खोजी गर्ने भएकाले ग्राहकले आफ्ना व्यक्तिगत पिन तथा पासवर्डहरु गोप्य नै राख्नुपर्ने हुन्छ ।

पछिल्ला दिनहरुमा बैंकका प्रतिनिधि बताउँदै बैंकका ग्राहकलाई फोन गरेर व्यक्तिगत पनि नम्बर माग्ने गरेको हुनाले बैंक वित्तीय संस्थाले सूचना समेत जारी गरेका छन्। नेपाल इन्भेस्टमेन्ट बैंकले लकडाउनको समयमा साइबर सुरक्षामा आक्रमण भइरहेको भन्दै सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ।

बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बर लगायतका गोप्य विवरण माग्ने काम भइरहेको भन्दै बैंकका कसैले पनि त्यसरी पासवर्ड नमागेको स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकले विद्युतीय प्रणाली मार्फत हुने भुक्तानीको सेवा शुल्क नलिन तथा विगतको तुलनामा ठुलो कारोबार पनि गर्न सकिने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम सेलमेन्ट मार्फत वित्तीय कारोबार गर्दा शुल्क नलाग्ने भएको छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले मोवाइल तथा इन्टरनेट मार्फत गरिने कारोबारको सीमा खुकुलो गराएको छ ।

मोवाइल बैंकिङ मार्फत दैनिक एक लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने ब्यवस्था गरेको छ ।

यसभन्दा अघि ग्राहकले मोवाइल बैंकिङ मार्फत दैनिक ५० हजार र मासिक एक लाख रुपैयाँको मात्र भुक्तानी गर्न सक्ने व्यवस्था थियो ।

त्यसैगरी इन्टरनेट बैंकिङ मार्फत ग्राहकले दैनिक १० लाख र मासिक ३० लाख कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी इन्टरनेट बैंकिङ अकाउन्ट ट्रान्सफरमा प्रतिदिन १० लाख तथा ५० लाख रुपैयाँ सम्मको कारोबार गर्न पाइने लगायतका व्यवस्थामा सीमा बढाएको छ ।

तर, केन्द्रीय बैंकले ग्राहकलाई सहज हो भन्ने उद्देश्यले वढाएको मोवाइल तथा इन्टरनेट बैंकिङ कारोबारको सीमाले अपराधीहरुको मनोवल भने उच्च भएको छ । विगतको तुलनामा इन्टरनेट तथा मोवाइल बैंकिङ मार्फत पनि प्रयाप्त पैसा ठगी गर्न सकिने भएपछि लकडाउनको मौका पारेर ह्याकर तथा ठगहरुको सक्रिय हुन थालेका हुन् । सीमा बढेको तथा ग्राहकहरु घर भित्र नै हुने भएकाले यस्तो अवस्थामा ठगहरुले नयाँ नम्बरको प्रयोग गरेर बैंकको कर्मचारी बताउँदै तपाईको व्यक्तिगत सूचनाहरु मागेर दुरुपयोग गर्न सक्ने अवस्था उच्च हुन्छ ।

यस विषयलाई लिएर नेपाल बैंकर्स संघले पनि विद्युतीय कारोबार गर्दा आफ्नो खाता नम्बर, पिन नम्बर लगायतका गोप्य व्यक्तिगत विवरणहरु कस्लाइ पनि नदिन आग्रह गरेको छ । त्यसका साथै बैंक स्वयमले पनि ग्राहकको व्यक्तिगत विवरण नमाग्ने समेत संघले जनाएको छ । यदि बैंकको कर्मचारी भन्दै त्यस्तो विवरण मागेको खण्डमा पनि आफ्ना व्यत्तिःगत विवरण नदिन बैंकहरुले पनि आग्रह गरेका छन्।