भारतमा लकडाउन थपिने भएपछि शेयर बजार घट्न थाल्यो

भारतमा लकडाउन थपिने भएपछि शेयर बजार घट्न थाल्यो

भारतीय शेयर बजारका लागि पनि राहत आउनसक्ने अपेक्षामा विगतका केही दिन सकारात्मक रहेको भारतीय शेयर बजार यो साताको पहिलो दिन सोमबार घटेको छ । 

भारत सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि लकडाउन अवधि अझै पनि थप्ने भएपछि शेयर बजार नकारात्मक भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतलाई सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने संकेत देखिपछि त्यसको नकारात्मक असर शेयर बजारमा देखिएको हो । यो सूचना बाहिर आएसँगै भारतीय शेयर बजारमा बिक्री चाप बढेको थियो ।

मंगलबार कारोबार सुरु भएदेखि घट्न थालेको भारतीय शेयर बजार बन्द हुँदासम्म कायम रह्यो । मंगलबार बम्बई स्टक एक्सचेन्ज सूचक सेन्सेक्स ४०७ अंकले घटेर ३० हजार ६९० दशमलव ०२ बिन्दुमा झरेको छ । त्यसैगरी नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि १०५ अंकले घटेर ९ हजार ६ दशमलव ९० अंकमा झरेको छ ।

सोमबार भारतीय शेयर बजारमा बैंक, फाइनान्स तथा अटो सेक्टरका शेयरको बिक्री चाप धेरै देखियो । औषधि कम्पनी तथा मेटल कम्पनीको शेयरमा भने सुधार देखिएको थियो । विश्वब्यापी शेयर बजारलाई हेर्दा गत साताको अन्तिम दिन शुक्रबार अमेरिकी शेयर बजारमा उच्च सुधार आएको थियो । तर, सोमबार एसियाका अधिकाशं शेयर बजारमा बिक्री चाप धेरै रहेको छ ।

सोमबार सेन्सेक्समा कारोबार भएका ३० कम्पनीमध्ये २३ कम्पनीको शेयरमूल्य घटेको छ । निफ्टीमा रहेका ११ उपसूचकहरु नकारात्मक रहेका छन् ।

 

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार २० : ४२ बजे