अवस्था हेरी राहत दिन बैंकरहरुको सुझाब, सांसद भन्छन् कर्जाको अनुगमन जरुरी

0
Shares

प्रतिफल पाउने गरी कृषि क्षेत्रमा लगानी गर्न आवश्यक रहेको सङ्घीय संसद्, अर्थ समितिको छलफलमा सहभागीहरुले बताएका छन् ।

समितिको सङ्घीय संसद्को सचिवालय सिंहदरबारमा आज बसेको समितिको ८९औँ बैठकमा सहभागी सांसद र बैंकिङ क्षेत्रका प्रतिनिधिहरुले अहिलेको अवस्थालाई महामारीका रुपमा नभई अवसरका रुपमा लिनुपर्ने जोड दिए ।

छलफलमा सहभागी नेपाल बैंकर्स सङ्घका अध्यक्ष एवं सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बहुमत प्राप्त सरकार भएकाले अर्थतन्त्र बलियो बनाउने अवसर भएको बताए । स्थानीय तहसम्म विभिन्न बैंक स्थापना भएकाले अहिलेको अवस्थामा काम गर्न अहिले सजिलो हुने उनको धारणा थियो । “महामारी समस्यामात्र होइन देशलाई आत्मनिर्भर तथा अर्थतन्त्र बलियो बनाउने अवसर हो”, उनले भने । अहिलेको अवस्थामा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र रहेको दाहालले बताए । उनले सडक निर्माणमा सिमेन्टको प्रयोग गर्न सुझाव दिए । “यसले सडक बलियो पनि हुन्छ, खर्च पनि घट्छ”, अध्यक्ष दाहालले भने ।

नेपाल बैंकर्स सङ्घका पूर्व अध्यक्ष एवं नविल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंकिङ क्षेत्रसितको सर्वसाधारणको सम्बन्ध टुट्न दिन नहुने बताए । यसका लागि सरकारको सहयोगको खाँचो रहेको उनको धारणा थियो । “महामारीका बेला पनि बैंकिङ क्षेत्र मजबुत छ भन्ने सेवाग्राहीलाई विश्वास दिलाउन सक्नुपर्छ”, शाहले भने । चौध लाख ऋणीलाई मात्रै सरकारले राहत दिन नहुनेमा उनले जोड दिए । सबैको अवस्था हेरी राहतका लागि तह निर्धारण गर्न उनले सुझाव दिए । कृषिमा लगानी गर्न ऋणमात्रै दिएर नपुग्ने र ऋण लिनेले उत्पादन गरे नगरेको अवस्था पत्ता लगाउनुपर्ने उनले उल्लेख गरे । “उत्पादन खपत भए/नभएको अवस्थाको ख्याल गरी लगानी गर्नुपर्छ”, शाहले भने “मल, बीउ र उपकरणलगायतमा सहयोग गर्नुपर्छ ।”

पूर्व अर्थमन्त्री एवं सांसद सुरेन्द्र पाण्डेले बैंकप्रतिको उपभोक्ताको विश्वास घट्न दिन नहुने र यसका लागि सरकारले भूमिका खेल्नुपर्ने बताए । ऋण लिने व्यवसायीले लगानी कुन कुन क्षेत्रमा गरेका छन् भन्ने जानकारी सरकारले राख्नुपर्ने उनले उल्लेख गरे । “उनीहरुले रोजगारी सिर्जना गरे/नगरेको पत्ता लगाउनुपर्छ, ऋण लिएर काठमाडौँमा मात्र लगानी गरेको र बाहिर लगानी गर्न नसकेको पाइएको छ”, उनले भने । काठमाडौँ बाहिर लगानी गर्ने सर्तमा ऋण उपलब्ध गराउन उनले सुझाव दिए । अहिलेको अवस्थामा विदेशबाट फर्केका युवालाई कृषि उत्पादनतर्फ आकर्षित गर्नुपर्ने पाण्डेको भनाइ थियो । “विदेशबाट फर्केकालाई उनीहरुको सीपअनुसारको काममा आकर्षित गरी उत्पादनमा जोड दिने कार्यक्रमको आवश्यकता छ”, उनले भने ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले कोरोना महामारीका कारण अर्थतन्त्रमा पार्न सक्ने प्रभाव तथा अर्थतन्त्र बलियो बनाउन विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको धारणा बुझ्न छलफल आयोजना गरिएको बताए । बुधबार ११ बजे अर्थशास्त्रीहरु तथा अर्थ्विज्ञहरुसित छलफल गरिने उनले जनानकारी दिए।