बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान दिने निर्णय

0
Shares

पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट हुन सक्ने खाद्यान्न संकट समाधानलाई ध्यान दिँदै नगरपालिकाले अनुदान दिने निर्णय गरेको हो ।

उत्पादन बढाउन र खाद्य सङ्कट नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले बताए।

नगरको कार्यपालिकाको हिजो बसेको बैठकबाट महामारीले हुनसक्ने खाद्य संकट घटाउन बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको हो।

नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जमिनमा मकै, कोदो, धानलगायतका खाद्यान्‍न खेती गर्ने किसानलाई अनुदान दिने निर्णय गरेको शर्माले जानकारी दिए।

“हामी आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ”, उनले भने, “यस्तै अवस्था आउने हो भने बाहिरबाट खाद्यान्‍न आयात हुँदैन। त्यसैले हामीले आफ्नै उत्पादनमा जोड दिनुपर्छ ।”

नगरपालिकाले बाँझो जमिनमा खेती गरे वडा कार्यालयबाट प्राप्त तथ्यांकको आधारमा अनुगमन गरी वास्तविक देखिएमा मल, बीउ व्यवस्थापनको लागि प्रति रोपनी दुई हजार रूपैयाँ दिनेछ। साथै नगरपालिकाले खेती गरिने स्थान वरिपरि अनुत्पादक रुख कटानीछटानीको व्यवस्था गर्नुपर्ने भनेको छ।

बाँझो जमिनमा खेती गर्न इच्छुक व्यक्तिले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित टोलको सिफारिस, जग्गाधनी प्रमाणपत्र र लिज वा भाडामा भए सम्झौतापत्र र लिनेदिनेको नागरिकताको प्रमाणपत्रसहित १५ दिनभित्रमा वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बतए।