अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाबारे भारत र चीनबीचको जारी तनावको विषयमा पुनः मध्यस्थताका लागि प्रस्ताव पेश गरेका छन् ।
ट्रम्पले भनेका छन्, ‘यदि उहाँहरुलाई मैले केही मद्दत गर्नसक्छु जस्तो लाग्छ भने म मध्यस्थताका लागि तयार छु ।’ राष्ट्रपति ट्रम्पले चीनसँग जारी ठूलो विवादको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको पनि जानकारी दिए ।
ट्रम्पले दाबी गर्दै भने, ‘दुई देशबीचको तनावको विषयमा प्रधानमन्त्री मोदीको मूड ठिक छैन ।’ उनले यो विवादमा भारत रत्तिभर पनि खुशी नभएको र चीन पनि खुशी नभएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले यी कुरा पत्रकारसँग बिहिबार ह्वाइट हाउसको ओभलमा भनेका हुन् । अमेरिकी राष्ट्रपतिले भारत र चीनबीच ठूलो भीडन्तको स्थिती सिर्जना भएको बताएका छन् ।
एक भारतीय पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘मलाई तपाईंको प्रधानमन्त्री निकै मनपर्छ । उनी निकै सज्जन छन् ।’ भारत–चीनबीचको तनावबारे कुरा गर्दै उनले भने, ‘भारत र चीनबीच ठूलो भिडन्तको स्थिती छ । दबै देशसँग १ अर्ब ४० करोड जनसंख्या छ । दुबै देशसँग निकै बलियो सेना छ । भारत खुसी छैन र सायद चीन पनि छैन । मैले मोदीसँग कुरा गरेको थिएँ र चीनसँग हाल जे चलिरहेको छ, त्यो विषयमा उनको मूड ठिक छैन ।’
बुधबार ट्रम्पले ट्वीटमा दुई देशबीचको सीमाको विषयमा जारी विवादका लागि मध्यस्थताको प्रस्ताव पेश गरेका थिए । ट्रम्पले आफू मध्यस्थताका लागि तयार भएको बताएका थिए । जब ट्रम्पलाई मध्यस्थताका लागि सोधियो तब उनले भने, ‘म यस्तो गर्न सक्छु । यदि उहाँहरुलाई यसमार्फत् मद्दत मिल्छ भन्ने लाग्छ भने म यस्तो गर्न सक्छु ।’
प्रतिक्रिया