मालपोतका अधिकृतद्धारा १० करोड भष्ट्रचार, साली र जेठानको खातामा रकम

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकाल विरुद्ध दश करोड बढी रकम भष्ट्रचार गरेको आरोप दर्ता गरेको छ ।

भूमीसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकाल मालपोत कार्यालयहरुमा कार्यरत रहँदै जग्गा दर्ता लगायतका गैरकानूनी कार्यहरुबाट उक्त रकम आर्जन गरेको अख्तियारको भनाई छ।

ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको, आफू र आफ्नै परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा संचालित बैंक खाताहरुमा रकम जम्मा गर्ने गरेको खुलेको छ । त्यस्तै उनले हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा बैक खाता खोली खाता संचालकबाट खाता संचालनको अनुमति लिई ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ विभिन्न शीर्षकहरुमा खर्च गरेको अख्तियारले जनाएको छ ।

यसैगरी ढकालले आफु र श्रीमतीका नाममा दर्ता कायम रहेका जग्गाहरु कुनै किसिमको खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोवार देखाइ एक करोड ६८ लाख आयस्रोत बढाउने काम गरेको खुलेको छ ।

अनुसन्धानको क्रममा ढकालले १४ करोड ५३ लाख ८२ हजार ४ सय अन्ठानब्बे रुपैया खर्च तथा लगानी गरेको देखिएको र उनले आम्दानी भन्दा १० करोड २७ लाख अन्ठाउन्न हजार चार सय एकसठ्टी रुपैया वढी खर्च गरेको रकमको स्रोत खुल्न नआएकाले त्यत्तीने बिगो कायम गरी मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ।

ढकाललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरुसमेत जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ।

अख्तियारका अनुसार २०५५ सालमा रा.प.अनं.द्धितिय श्रेणी खरिदारको पदबाट निजामती सेवामा प्रवेश गरी ना.सु. र हाल शाखा अधिकृतको पदमा वढुवा भएका ढकालले २२ वर्षमा गैरकानूनी रुपमा दश करोढ बढी सम्पत्ति आर्जन गरेको बताएको छ।

निज ढकाल निजामती सेवामा प्रवेश पश्चात मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लिबजार काठमाण्डौ, पर्सासमेतका मालपोत कार्यालयहरुमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत रहेको देखिन आएको आयोगले जनाएको छ।