रोल्पामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुनिल स्मृति गाउँपालिका गजुलमा एकै पटक तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो। यससँंगै प्रदेश नं ५ का सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ।
प्रदेश नं ५ का ११ जिल्लामा कोरोना संक्रमण फैलिएकामा अहिलेसम्म रोल्पामा फेला परेको थिएन । कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिका –५ का २० र २७ वर्षीय तथा वडा नं ६ का २० वर्षीय युवा रहेको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल केसीले जानकारी दिए।
संक्रमित युवा यह जेठ १२ भारतबाट आएका थिए। उनीहरुलाई अलग अलग क्वारेन्टिनमा राखिएको थियो। वडा नं ५ को सूर्योदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका दुई र वडा नं ६ को जनज्योति मावि क्वारेन्टिनमा रहेका एक जनाको कोरोना पुष्टि भएको हो ।
क्वारेन्टिनमा बसेका उनीहरुको एक साताअघि स्वाब संकलनका गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो ।
स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन अरुण भिटुका अनुसार जिल्लामा हाल दुई हजार १२६ जना क्वारेन्टिनमा छन् । तीमध्ये एक हजार ४७६ जना भारतबाट फर्किएका हुन् ।
