निर्जिवन बीमा क्षेत्रमा नम्बर एक बन्ने दौडमा शिखर इन्स्योरेन्स

0
Shares

निर्जीवन बीमा क्षेत्रको ब्यवसाय विस्तार तथा वित्तीय सबलताको दृष्टिकोणवाट सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्स पहिलो स्थानमा देखिएको छ । चुक्ता पूँजीमा केही कम्पनी भन्द पछि देखिएको शिखरले ३० प्रतिशतका दरले हकप्रद बिक्री गरेर पहिलो स्थानमा नै आउने तयारी गरेको हो ।

नेप्सेमा सूचिकृत १५ निर्जीवन बीमा कम्पनीहरुमध्ये चुक्तापूँजीको आधारमा शिखर इन्स्योरेन्स पाचौं स्थानमा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको चूक्ता पुँजी थोरै देखिएको भएपनि आर्थिक वर्ष सकिएलगत्तै पहिलो स्थानमा आउने छ । 

कुल बीमा संकलन र खुद बीमा संकलनको आधारमा सबैभन्दा अगाडि रहेको शिखरको रिटर्न अन इक्विटी पनि पहिलो नै छ । तेस्रो त्रैमाससम्म नाफा, रिर्जभ, इन्स्योरेन्स फण्ड र प्रति शेयर आम्दानीको आधारमा दोस्रो स्थानमा रहेको छ ।
इन्स्योरेन्सले यहि असार १४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो । यसअघि नै हकप्रद बिक्रीको मिति तय भएपनि लकडाउनका कारण पछि धकेलिएको थियो।

कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । सो हकप्रद शेयरपछि चुक्ता पूँजी हकप्रद १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ । जसमा फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद प्रयोजनका लागि कम्पनीले गत फागुन १३ गते बुकक्लोज गरेको थियो ।

इन्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत २०७७ साउन ४ गतेसम्म आवेदन दिन पाउनेछन्।

हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड ७३ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब २३ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस अवधिमा इन्स्योरेन्सले एक अर्ब २१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ।

तेस्रो त्रैमासिको अत्यसम्म इन्स्योरेन्सले २ लाख २५ हजार ५२२ वटा बीमालेख जारी गरी २ अर्ब ६० करोड ९ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। एक अर्ब २६ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको इन्स्योरेन्सले ७२ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ९ पैसा, प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात १८.३३ गुणा छ ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन भने जसमध्ये नेप्सेमा १५ कम्पनी सूचीकृत रहेका छन्।