छ्याङ्दी हाइड्रोपावरको नाफा ७१.६८ प्रतिशतले बढ्यो

0
Shares

छ्याङ्दी हाइड्रोपावर कम्पनी (CHL) ले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्ममा ७१.६८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ।

चालु आवको ९ महिना अर्थात चैत मसान्तसम्ममा कम्पनीले खुद नाफा बढाएर १ करोड २२ लाख ५५ हजार ३२१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको चैतसम्ममा ७१ लाख ३८ हजार ६२८ रुपैयाँ आर्जन गरेकोमा चालु आवको यसै अवधिमा ५१ लाख १६ हजार ६९३ रुपैयाँले नाफा बढाएको हो।

गत आवको तेस्रो त्रैमासको तुलनामा सबैजसो खर्च शिर्षकहरुमा कटौती गरेको कम्पनीको विद्युत बिक्री आम्दानी १०.०५ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको मुनाफा उच्च सुधारिएको छ।

चैतसम्म कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ५७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको हो। गत आवको तेस्रो त्रैमासम्ममा ४ करोड १५ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेकोमा ४१ लाख ७८ हजार रुपैयाँले वृद्धि गरेको हो।

गत आवको यसै अवधिमा कम्पनीको सञ्चालन नाफा ३ करोड २५ लाख ९५ हजार रुपैयाँ रहेकोमा ६७ लाख २१ हजार रुपैयाँ बढेर ३ करोड ९३ लाख १६ हजार रुपैयाँ पुगेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालनमा रहेको आयोजनाबाट अपेक्षा गरिए भन्दा बढी नै उत्पादन गरी प्रवाह गर्न सक्षम भएता पनि सम्झौता बमोजिम सम्मको मात्र विद्युत प्रवाहको भुक्तानी प्राप्त हुने भएकाले आर्थिक रुपमा खासै परिवर्तन नभएको कम्पनीले वित्तीय विवरमा उल्लेख गरेको छ ।

चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँ रहेको रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५.७६ रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ३.५२ रुपैयाँ थियो। यस अवधिमा हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ १०४.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.२० गुणा छ।

यस्तै कम्पनीको जगेडा कोषको आकार १ करोड ४१ लाख २७ हजारबाट घटेर १ करोड २७ लाख १४ हजार रुपैयाँ सञ्चित गरेको छ। गत आवबाट कम्पनीले चुक्ता पूँजी २७ करोडको ५ प्रतिशत बराबरको १ करोड ३५ लाख रुपैयाँको बोनस बाँडेपछि कम्पनीको जगेडा कोषको आकार संकुचित बनेको हो।

कोरोना भाइरसका कारण बन्दाबन्दी जारी रहँदा कम्पनीले निर्माण गरिरहेको ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाको निर्माण प्रभावित बनेको छ।