किशोरको टिमलाई जिताउन आग्रह गर्दै गोल्छाले भने, ‘म फोटो झुन्ड्याउन आएको होइन, यसैले मलाई बलियो टिम चाहिन्छ’

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफु नेपाल उद्योग वाणिज्य महासंघमा काम गर्नको लागि आएको बताउँदै काम गर्ने टिमलाई जिताउन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्र ढकालले टिम सहित चुनाबी ऐजेण्डा सार्वजनिक गरेकै साँझ गोल्छाले आफ्नो समूहको भेला गरी सो आह्वान गरेका हुन । उनले आफु महासंघमा राजनीति गर्नका लागि नआएको प्रष्ट्रयाउँदै काम गर्नका लागि बलियो टिमको चाहिएको र काम गर्ने टिमलाई जिताउन आग्रह गरे ।

‘म फोटो मात्रै झुन्ड्याउन महासंघमा आएको होईन, काम गर्नका लागि आएको हुँ, काम गर्न बलियो टिम आवश्यक छ, यसैले किशोर प्रधानको टिमलाई जिताउनुहोस्,, गोल्छाले भने ।

गोल्छाले वरिष्ठ उपाध्यक्षमा रहेर तीन वर्ष काम गर्दा विधान संशोधनको तलवार देखाएर यातना दिने काम गरेको समेत आरोप लगाए । ‘मलाई ३ वर्षसम्म महासंघमा पीडा दिइयो, म उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । अझै म अध्यक्ष भएपछि ६ महिनामा हटाउने योजना बनेको सुनेको छु। यस्ता प्रवृति विरुद्ध लड्न हामी सबै एकजुट हुन आवश्यक छ,’ गोल्छाले भने।

यस्तै महासंघका पूर्व अध्यक्ष रवीभक्त श्रेष्ठले आफुले चुनाव नचाहेको बताउँदै सहमतिका लागि दुवै जना राखेर धेरै पटक छलफल गर्दा पनि कुरा नमिलेपछि चुनाबी वातावरण बनेको भन्दै चुनावी मैदानमा उत्रिएका सबैलाई शुभकामना व्यक्त गरे।

त्यसैगरी पूर्व अध्यक्ष कुश कुमार जोशीले यतिबेला उद्योग व्यवसायी धेरै मर्कामा परेको बताउदै महासंघले धेरै बिषय उठाउनु पर्ने आवश्यकता रहेको बताए । साथै उनले अहिले विषम परिस्थितिमा महासंघको वास्तविक एजेण्डा बोक्ने टिमलाई जिताउन पनि आग्रह गरे ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले संयमित भएर चुनाबमा लाग्नुपर्ने धारणा राख्दै यो निर्वाचनलाई तडक भडकबाट टाढा राख्न र एकअर्काप्रति आरोप प्रत्यारोपणमा नउत्री नमूना निर्वाचन बनाउन आग्रह गरे ।

उनले गएको निर्वाचनमा भवानी राणाले शेखरलाई आफ्नो टिममा राख्दा जायेज हुने तर अहिले शेखरले किशोरलाई आफ्नो टिममा राखेर हिड्दा कुनै आपत्ती नगर्न समेत आग्रह गरे । ‘शेखरबाट रिजल्ट चाहिन्छ भने उनलाई सहयोग गरौं’, मुरारकाले भने ।

एशोसिएटका उपाध्यक्ष उम्मेदवार ज्योतिले वेसरेट र स्प्रेडदर घटाउन सुझाब दिएको बताउँदै पाँच करोड रुपैयाँसम्मको पुनर्कर्जा बैंकबाटै दिने व्यवस्था हुनुपर्ने बताए। उनले उद्योगी व्यवसायीको समस्या सरकारले नसुनेको बताउँदै त्यसका विरुद्ध पनि लड्न तयार रहेको धारणा राखे ।

कार्यक्रममा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति लगायतले आफ्नो टीमलाई जिताउनपर्ने बताएका थिए ।

महासंघको आगामी नेतृत्वका लागि साउन २६ र २७ गते साधारणसभा हुँदैछ। यो साधारणसभामा नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको आगामी नेतृत्वका लागि दुई समूह चुनाबी मैदानमा उत्रिएका छन्।