ओरियण्टल को–अपरेटिभमा फसेका निक्षेपकर्ताको पैसा फिर्ता हुने

0
Shares

ओरियण्टल को–अपरेटिभले सहकारीमा जम्मा गरेको निक्षेप फरफारक हुन बाँकी रहेका निक्षेपकर्ताहरुको निक्षेप फिर्ता गर्ने भएको छ ।

जसका लागि सहकारीले निक्षेप फरफारक नगरेका निक्षेपकर्तालाई साउन २९ गतेदेखि ६० दिनभित्र फारम भर्न सूचना जारी गरेको छ । ओरियण्टलका अध्यक्ष सुधिर बस्नेतले जारी गरेको सूचनामा यसअघिको सहमति अनुसार कोरोना भाइरसका कारण एकिन विवरण संकलन गर्न नसकेकाले पुन विवरण संकलन गर्न लागिएको जनाइएको छ ।

सो सहकारीका निक्षेपकर्ताले आफ्नो निक्षेप रहेको शाखा, खाता नम्बर, बचत रकम तथा मुद्दा गरे नगरेको व्योहोरासमेत उल्लेख गरी ओरियण्टल को–अपरेटिभ सरकारी संस्थामा फर्म भरी पठाउन सूचना मार्फत आग्रह गरिएको छ ।

उक्त सहकारीले पीडितहरुको आधिकारीक प्रतिनिधि अध्यक्ष कुन्दादेवी पोखरेलसहित २०७५/३/२६ को त्रिपक्षीय सम्झौता र २०७६/१/३१ गते द्विपक्षीय सम्झौता बमोजिम निक्षेप फिर्ता गर्ने बताएको छ ।

साथै अघिको जस्तै हुलहुज्जत गर्ने र उक्साहट गरी भड्काउन खोजेर सहकारीको कामकारबाही गर्न असहज र निक्षेप फरफारक गर्न असुरक्षित भएमा त्यसको जिम्मा सहकारीले नलिने पनि प्रष्ट पारेको छ। सहकारीले प्रकाशित गरेको सूचना बमोजिम माग भएको विवरण दाबी पेश नभएको खण्डमा निक्षेप फरफारक भएको मानिने बताएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।