क्रिष्टल फाइनान्सको इजाजत खारेज

0
Shares

क्रिष्टल फाइनान्सको इजाजत खारेज भएको छ। नेपाल राष्ट्र बैंकबाट २०५८ भदौ ८ गते इजाजत पाएको क्रिष्टल फाइनान्सको इजाजत खारेज भएको हो।

नेपाल राष्ट्र बैंकले २०७१ कात्तिकमा फाइनान्सलाई खारेज गर्न अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको थियो । २०६९ सालमै समस्याग्रस्त घोषणा भई शीघ्र सुधारात्मक कारबाही अघि बढाएको फाइनान्स नसुध्रिएपछि यसलाई खारेज गर्ने निर्णय बैंकले गरेको हो ।

अदालतले दुई वर्षअघि नै खारेजीको आदेश दिए पनि आदेशको पूर्णपाठ नआउँदा त्यो प्रक्रिया अघि बढ्न सकेको थिएन। अदालतबाट आदेशको पूर्णपाठ आएसँगै क्रिष्टल फाइनान्स खारेजी गरिएको हो।  क्रिष्टल फाइनान्सलाई २०६९ असोज ७ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ८० को उपदफा (२) बमोजिम इजाजत खारेज गरिएको जनाएको छ।

समृद्धि फाइनान्स (साबिकको वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स) ले २०७६ मंसिर १७ गते क्रिष्टल फाइनान्सलाई खरीद सम्झौतामा हस्ताक्षर भए पनि सो सम्झौतालाई राष्ट्र बैंकले स्वीकृति नदिएपछि दुई फाइनान्सबीचको सम्झौता रद्द भएको थियो।

नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकारीले समस्याग्रस्त संस्था क्रिष्टल फाइनान्स र समृद्धिबीचको सम्झौता कानून सम्मत नभएपछि अस्वीकृत गरेको जनाए ।

फाइनान्सको इजाजत खारेज भएसँगै लिक्वीडेसनमा गएपछि अब क्रिष्टल फाइनान्स खरीद गर्न चाहने बैंक तथा वित्तीय संस्थाले लिक्वीडेटरसँग प्रकृया अगाडि बढाउनसक्ने ती अधिकारीले जानकारी दिए।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।