जलविद्युत कम्पनीको शेयरमूल्यमा उछाल, २९ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढ्यो

0
Shares

बुधबार नेप्से २५.५८ अंकले बढेर सूचक १ हजार ५१० बिन्दुमा पुग्दा शेयर बजारमा सूचीकृत ३३ जलविद्युत कम्पनीहरुमध्ये २९ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

बुधबार बजार खुलदेखि नै जलविद्युत कम्पनीहरुको शेयरमूल्य धेरै बढेको थियो। बजार बन्द हुँदा आठ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। बाँकी २१ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढ्दा ३ कम्पनीको ८ प्रतिशत धेरै र १ कम्पनीको ५ प्रतिशत बढीले शेयरमूल्य बढेको हो ।

नेप्सेमा रहेका १२ उप समूहका सूचकमध्ये अन्य सूचकहरुमा सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढिसकेको अवस्थामा पनि जलविद्युत कम्पनीको शेयरमूल्य भने बढेको थिएन। बुधबार समग्र कम्पनीहरुको शेयरमूल्यमा उछाल आएसँगै जलविद्युत उपसमूह ९.३० प्रतिशतले बढेको हो ।

नेप्से सूचकसँगै अरु कम्पनीहरुको शेयरमूल्य माथि पुगेपछि कारोबारीहरु सस्तो रहेको हाइड्रोपावर कम्पनीको शेयर उठाउन थालेका हुन् । विश्वब्यापी महामारी कोरोना संक्रमण फैलिएपछि अन्य कम्पनीको तुलनामा विद्युत उत्पादन गरिहेका जलविद्युत कम्पनीहरुको आम्दानी नघ्ने र स्थिर आम्दानी रहने आंकलनका बीच कारोबारीहरुको नजर जलविद्युत कम्पनीको शेयरमा परेको हो ।

बुधबार कारोबार बन्द भइसक्दा पनि १२ कम्पनीको शेयरमूल्य अझै अंकित मूल्य (१०० रुपैयाँ) भन्दा तल छ । प्राथमिक बजारमा भन्दा सस्तो मूल्यमा शेयर उठाउने अवसर देखेपछि सूचीकृत सबैजसो हाइड्रोपावरको शेयरमूल्य उच्च दरले बढेको हो ।

बुधबार कारोबार समयपछि खानीखोला हाइड्रोपावर, दीब्यश्वरी हाइड्रोपावर, आँखुखोला जलविद्युत, नेशनल हाइड्रोपावर, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, माउन्टेन हाइड्रो नेपाल, पञ्चकन्या माइ हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य एक सय रुपैयाँभन्दा कम छ ।

बुधबारको बजारभाउ अनुसार चिलिमे हाइड्रोपावर कम्पनीको कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै प्रतिकित्ता ४५२ रुपैयाँ रहेको छ । बुटवल पावरको प्रतिकित्ता ३९९, सानिमा माई हाइड्रोपावरको २७३, अपर तामाकोशीको २५४, र राधी विद्युत कम्पनीको २०९ रुपैयाँ रहेको छ । बाँकी १६ कम्पनीको शेयरमूल्य १०० देखि २०० रुपैयाँको बीचमा रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।