समीट र सजिलो लघुवित्तले असोज ६ गतेदेखि एकीकृत कारोबार थाल्ने

0
Shares

समीट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त वित्तीय संस्थाले असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

दुई संस्था मर्ज भएर बनेको संस्थाले समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबाबार थाल्नेछ । लघुवित्तको केन्द्रीय कार्यालय गोरखा नगरपालिका वडा नं. १३ मझुवा देउरालीमा रहनेछ।

दुबै कम्पनीको गत असारमा सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । एकीकृत कारोबारका लागि राष्ट्र बैंकले भाद्र ७ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले भाद्र २८ गते स्वीकृती प्रदान गरिसकेको छ।

सजिलो एक राष्ट्रियस्तरको कार्यक्षेत्रको इजाजतपत्र प्राप्त लघुवित्त संस्था हो भने समीट लघुवित्त १५ जिल्ला कार्यक्षेत्र भएको संस्था हो । सजिलो लघुवित्तले आइपीओ जारी गरेको छैन भने समीट नेप्सेमा सूचीकृत कम्पनी हो ।

मर्जर पश्चात बन्ने लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुग्नेछ । मर्जर अघि समीट लघुवित्तको चुक्ता पूँजी २५ करोड ४३ लाख रुपैयाँ तथा सजिलो लघुवित्तको चुक्ता पूँजी १४ करोड रुपैयाँ थियो । दुई संस्था एक बराबर एक शेयर अनुपातमा मर्ज भएका हुन् ।

मर्जरपश्चात लघुवित्तले एफपीओ निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराइसकेको छ। सजिलो लघुवित्तको आईपीओ आउन बाँकी शेयर बराबरको एफपीओ जारी गर्ने सभाले निर्णय गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।