साढे ६२ करोडको आईपिओ जारी गर्न लागेको ग्रीन भेन्चर्स कस्तो कम्पनी हो ?

0
Shares

ग्रीन भेन्चर लिमिटेडले सर्वसाधारणमा ६२ करोड ५० लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैंया अंकित मूल्यमा ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

कस्तो हो ग्रीन भेन्चर्स कम्पनी ?

ग्रीन भेन्चर लिमिटेड जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि स्थापित कम्पनी हो। जसले रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२ दशमलव ४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ। हालसम्म आयोजनाको निमार्ण कार्य ७५ प्रतिशत बढी सम्पन्न भइसकेको कम्पनीका प्रबन्धक बद्री रिजालले नोटबजारलाई जानकारी दिए ।

आयोजनाको कुल लागत १० अर्ब १६ करोड छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । तर निमार्ण अवधि लम्बिएकाले आयोजनाको लागत बढ्ने देखिएको छ । उक्त आयोजनाको प्रबद्र्धकको रुपमा नेपालका प्रतिष्ठित व्यापारिक समूह त्रिवेणी ग्रुप एवं विशाल ग्रुप रहेका छन्।

सो आयोजनामा नबिल बैंकको अगुवाईमा सात वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिल बैंकको एक अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले एक अर्ब २५ करोडका दरले लगानी गरेका छन । त्यस्तै एसबिआई र सनराइज बैंकले एक/एक अर्ब तथा प्रभु र सानिमा बैंकको ८५/८५ करोड रुपैयाँ लगानी छ ।

आयोजनाका लागि २०७४ मङ्सिर २९ गते वित्तिय व्यवस्थापन सम्पन्न भएको थियो।आयोजनाले नेपाल बिद्युत प्राधिकरण संग २०७३ असार २५ गते बिद्युत खरिद सम्झौता गरिसकेको छ ।

आयोजनाको व्यापारिक उत्पादन गर्ने मिति २०७७ असोजमा तय गरिएकोमा ठेकेदार कम्पनीसँगको लफडा लगायतका कारणले निमार्ण कार्य लम्बिदै आएको हो । आगामी एकवर्षभित्र निमार्ण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य राखेको छ ।

उक्त आयोजनावाट उत्पादित उर्जा २२० केभि डबल सर्किट ट्रान्समिसनलाइनबाट नेपाल बिद्युत प्राधिकरणको खिम्ती सबस्टेशनमा जोडिने आयोजनाले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।