संस्थाको छबि धमिल पार्ने काम गरियो : उद्योग वाणिज्य महासंघ


नेपाल उद्योग वाणिज्य महासंघले संस्थाको छबि धमिल बनाउने किसिमका कृयाकलापहरु भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । महासंघ र अध्यक्ष भवानी राणाको नाम जोडेर भ्रामक र आधारहिन समाचारहरू सम्प्रेषण भएको भन्दै महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हचुवाको भरमा सहि जानकारी नै नलिई एकतर्फीरुपमा अध्यक्ष र महासंघको छबि धुमिल्याउने गरी केही सञ्चार माध्यममा समाचार प्रकाशित गरिएकोमा त्यस्ता समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।

हाल कोभिड १९ को महामारीले विश्वलाई नै आक्रान्त पारेको र नेपालमा पनि दैनिक कोभिड संक्रमण बढ्रदै गएकाले महासंघको आसन्न निर्वाचनलाई सतर्क र सुरक्षितरुपमा सम्पन्न गर्ने जिम्मेबारीसहित निर्वाचनका कार्यहरू संचालन भईरहेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनलाई स्वास्थ मापदण्ड पालना गर्ने विषयमा कार्यकारिणी समितिले सम्पूर्ण अधिकार अध्यक्षलाई प्रदान गरेको महासंघले जनाएको छ । सरकारले तोकेको स्वाथ्य मापदण्ड पूर्णरुपमा पालना गर्नु भनेको अवस्थामा बाहिरी जिल्लाहरूबाट आउने निर्वाचन प्रतिनिधि तथा जिल्ला तथा नगर उद्योग संघका प्रतिनिधिहरूलाई मापदण्ड पालना गरेको हाटलमा राख्ने व्यवस्था गरिएको महासंघले जनाएको छ ।

प्रतिनिधिहरुलाई सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन चालिएको कदमलाई अनर्गल प्रचार गरी सार्वजनिकरुपमा भ्रम फैलाईएको भन्दै महासंघले आपत्ति प्रकट गरेको छ ।

“यस्तो अनर्गल प्रचार गरी महासंघ र अध्यक्ष तथा समग्र निजी क्षेत्रकै छबिलाई धमिल्याउने र बदनाम गर्ने प्रयास गरिनु कदापी राम्रो होइन । त्यसैगरी महासंघले सबैको सरसल्लाह र व्यापक छलफल पश्चात गरेका निर्णयलाई आफनो स्वार्थ अनुकुल प्रचार प्रसार गरिनु दुःखद रहेको महासंघको बुझाई छ”, विज्ञप्तिमा भनिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।