उद्योगी व्यवसायीले प्रतिबद्धता पूरा नगर्ने हो भने विश्वासको वातावरण गुम्छ : शौरभ ज्योतीसँग अन्तरवार्ता


नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट्सतर्फका उपाध्यक्षका प्रत्यासी सौरभ ज्योतीले सहमति र प्रतिबद्धता पूरा गर्न नसक्ने व्यवसायी र मतदानका बेला जनतालाई झुठा आश्वासन छर्ने राजनितिज्ञका बीचमा कुनै अन्तर नहुने बताएका छन् । ज्योती ग्रुपका निर्देशक समेत रहेका ज्योतीले व्यवसायिक प्रतिष्ठानमा जस्तै महासंघमा पनि शद्धीकरण जरुरी रहेको बताएका छन् ।

अघिल्लो पटकको महासंघ निर्वाचनमा आफुले चन्द्र ढकाललाई निर्विरोध गराउन गरेको सहमति र त्यागको सम्मान हुने बताएका उनले त्यस्तो नभएको खण्डमा व्यवसायीको प्रतिबद्धता राजनितिज्ञको जस्तै हुने बताएका छन् । प्रस्तुत छ ज्योतीसँग नोटबजारले गरेको कुराकानी :-

  • चुनावको दिन नजिकै आइसक्यो, हर्टबिट कत्तिको बढेको छ ?

चुनावको माहोल नजिकिँदै गर्दा एक किसिमको उत्साह बढेको छ । त्योभन्दा खुसीको कुरा के हो भने निर्वाचनका दौरान परिवार जस्तै सक्षम अनि सबल टीम बनेको छ । र सामुहिक रुपमा कामहरु अघि बढाएका छौं । यसमा असाध्यै खुसी लागेको छ ।

  • एसोसिएट्सबाट नै तपाईको उम्मेदवारी किन ?

म पहिला-पहिला २ कार्यकालसम्म एसोसिएट्सबाट नै महासंघमा उभिएको हो । एउटा कार्यकालमा मात्र म वस्तुगततर्फ गएको थिएँ । मेरो सम्बन्ध, चिनजान बढी भएको हुनाले काम गर्ने माहोल पनि उतै हुने भएकाले एसोसिएट्सतर्फबाट आएको हुँ । मेरो स्ट्रेन्थ पनि एसोसिएट्समा नै भएकाले आफ्नो क्षेत्रलाई समातेको हुँ ।

  • तपाईको टीम, तपाईको भाषामा तपाईको परिवारका सबै सदस्यले चुनाव नजितेको खण्डमा टीमसँग बनाएका योजना कसरी कार्यान्वयन गर्नुहुन्छ ?

सबैभन्दा पहिलो कुरा त हाम्रो टीममा एकसे एक व्यक्ति आआफ्नो क्षेत्रमा कतै न कतै नेतृत्वका आधारमा भनौं वा अनुभवका आधारमा भनौं, सक्षम हुनुहुन्छ । उहाँहरुको प्रतिबद्धता पनि महासंघमा गएर निजी क्षेत्रको हकहीतको लागि सेवा गर्ने भन्ने नै हो । बलियो टीम भएका कारण म के भन्न चाहन्छु भने हाम्रो टीमको १९ जनाले नै चुनाव जित्नुहुन्छ ।

केही कारणले केही साथीहरु छुट्ने अवस्था आयो भने पनि जुनसुकै टीममा एउटै एजेण्डामा काम गर्नेछ । आर्थिक संवृद्धि नै मुख्य एजेण्डा हो । यसका बहुआयामिक पक्षहरुलाई प्राथमिकतामा राख्दै महासंघलाई बलियो र सबल बनाउने अभियानमा जुट्नुको विकल्प हुँदैन ।

जतिवटा कपमा किन नहाल्नुस, आखिर चिया त चिया नै हो । अर्को टीमबाट पनि केही साथीहरु आउनु भयो भने काम गर्ने त एउटै एजेण्डामा हो नि ।

  • निर्वाचनको माहोल सुरु हुँदै गर्दा टीमको कुरा गर्ने अनि अन्तिम समयमा म र आफु मात्र भन्ने उम्मेदवारहरुको अभ्यास पनि त भईरहेको छ नि ?

तपाईले भनेको विषय हाम्रो टीममा ठीक उल्टो छ । टीम बनाउने समयमा हामीले सबैको आआफ्नो क्षमताका आधारमा फरक-फरक व्यक्तिलाई अघि ल्याएका हौं । र मतदाताहरुसँग पनि उम्मेदवारको क्षमताको आधारमा नै हामीले उपस्थिती जनाएका छौं ।

अहिले निर्वाचन हुन केही दिन बाँकी हुँदा तपाईले हेर्नु भयो भने सौरभ ज्योतीलाई वा भनौं व्यक्ति विशेषलाई मुद्धा बनाएका छैनौं । समग्र टीमको अवधारणलाई हाम्रा प्रचार सामग्री, बोली लगायतमा प्राथमिकतामा राखिएको छ । हामी झनै एकजुट भएर अघि बढिरहेका छौं । यस कारण अन्तिम समयमा टीमको कुरा नगर्ने अभ्यासको ठीक उल्टो अवस्था हामी कहाँ देखिन्छ ।

  • अघिल्लो पटकको महासंघ निर्वाचनमा तपाईले टीमको अवधारणमा नै चन्द्रप्रसाद ढकाललाई अघि बढाउनु भएको थियो । त्यसबेला तपाईसँग भएको सहमति अहिले कार्यान्वायन भयो कि भएन ?

उद्योगी व्यवसायीको सबैभन्दा ठूलो कुरा भनेको प्रतिबद्धता हो । एक पटक गरेको प्रतिबद्धतालाई हामीले पूरा गर्नैपर्छ । त्यस्तो नहुने हो भने विश्वास रहँदैन र नेतृत्वमा नै आशंका आउँछ ।

अघिल्लो पटकको चुनावको कुरा गर्ने हो भने चन्द्र ढकाल र म एसोसिएट्सतर्फबाट उपाध्यक्षका लागि प्रतिष्पर्धामा उत्रिने निर्णयमा पुगेका थियौं । धेरै साथीहरुबाट मिलेर अघि बढ्नु पर्छ भन्ने आवाज आयो । व्यक्ति संस्थाभन्दा ठूलो नहुने कुरालाई आत्मसाथ गर्दै साथीहरुको सुझावमा मैले उपाध्यक्षको पदमा जाने चाहनालाई त्यागेको थिएँ ।

त्यस बेला चन्द्र ढकालले मलाई योग्य व्यक्ति भएको भन्दै सघाउँदै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो । र म उहाँको बोलीमा विश्वस्त छु । यस पटक उहाँले बहुमतले विजयी गराउन मलाई सहयोग गर्नुहुन्छ ।

  • महासंघको नेतृत्वमा पुग्नका लागि अस्वस्थ लडाईँको अभ्यास विगतमा पनि थियो र अहिले पनि देखिईरहेको छ । यसले महासंघलाई आगामी दिनमा कुन बाटोमा लैजाला ?

महासंघमा पदमा पुगिसके पछिका प्राथमिकतामा समग्र निजी क्षेत्रको विषय केन्द्रमा हुन्छ । त्यहाँ पुगेपछि जो कोहीले पनि आफ्नो व्यक्तिगत व्यवसायलाई कम प्राथमिकतामा राख्नु पर्छ जसले उसको पहिलो प्राथमिकता महासंघ र दोस्रो प्राथमिकता मात्र आफ्नो व्यवसायको अवस्थामा पुग्छ । जसले यो सिद्धान्तलाई मान्दैन उ महासंघ नेतृत्वमा पुग्न सक्षम हुँदैन ।

त्यसैले नेतृत्वमा पुग्न गलत अध्यास गर्नेहरुलाई हामीले तलदेखि नै चिनेर निस्तेज गर्नुपर्ने हुन्छ ।

 

  • तपाईका प्रतिद्धन्दी रामचन्द्र संघाईलाई कतिको चुनौतीका रुपमा लिनु भएको छ ?

व्यवसायिक हिसाबले मैले कहीँ पनि कसैलाई प्रतिष्पर्धी मानेको छैन । मेरो प्रतिष्पर्धा भनेको मसँग नै हो । हिजोभन्दा आज म अलि राम्रो अवस्थामा छु, भोलि मलाई अझै राम्रो बन्नु छ ।

आफूले आफुलाई सुधार गर्दै अघि बढ्नु छ । चुनावको सन्दर्भमा पनि मेहनत गरेर अघि बढ्ने हो । चुनाव जितेपछि पनि हामीले के गर्ने हो भनेर एजेण्डा तथा कामका सारहरु तय भईसकेका छन्, त्यसमा थप मेहनत गर्ने हो । यसले नै मलाई मात्र नभई हरेक व्यक्तिलाई सफल बनाउँछ जस्तो लाग्छ ।

  • चुनावी नतिजा तपाईले सोचेजस्तो नआएको खण्डमा आगामी नेतृत्वले गर्नैपर्ने साना तर महत्वपूर्ण कामहरु के-के हुन् ?

माइनर तथा ठूलो कुरा के हो भने हामीले एसोसिएट्सतर्फका ९२६ साथीहरुलाई एक एक गरेर सम्वाद गर्ने, उहाँहरुको समस्या सुन्ने, सल्लाह र सुझाव संकलन गर्ने काम गर्न सकिएको छैन । त्यसैले सबैभन्दा पहिला सबै साथीहरुसँग सम्बन्ध स्थापित गर्नुपर्ने अवस्था छ । यसलाई हामीले पहिलो कामका रुपमा लिएका छौं ।

दोस्रो कुरा भनेको हामीले महासंघको सचिवालयलाई सुदृढ र सबल बनाउनुपर्नेछ । सचिवालय जति कमजोर भयो त्यति धेरै समय दिनसपर्ने हुन्छ । यसलाई डाटा सेन्टरको रुपमा स्थापित गर्ने, विज्ञहरुको साझा प्लेटफर्म बनाउने हो भने हामीलाई नै काम गर्न सजिलो हुन्छ । यी विषयहरुलाई हामीले प्राथमिकतामा राखेका छौं ।

  • अहिलेको कर प्रणालीका सम्बन्धमा तपाईको बुझाई के हो ? हामी कहाँ चुक्यौं ?

हामीले सधैँ करका दरहरु मात्र बढाउन खोज्यौं, तर दायरा बढाउन खाजेनौं । जसले गर्दा राज्यले संकलन गर्ने करको ठूलो हिस्सा सिमित व्यत्तmीहरुले मात्र तिरिरहेको अवस्था छ । ८०० देखि एक हजार जनाले करमा ८० प्रतिशतभन्दा धेरै योगदान गरिरहेका छन् ।

लाखौंको संख्यामा रहेका साना व्यवसायीले २० प्रतिशत योगदान गरेको अवस्था छ । यो अवस्थालाई हेरेर हामीले करको दर बढाउने होइन घटाउँदै दायरा बढाउनेमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । ६० प्रतिशतभन्दा धेरै अनौपचारिक किसिममा भईरहेको आर्थिक कृयाकलापलाई औपचारिक बनाउने हो भने कर संकलन भईरहेको आकार धेरै माथि पुग्छ । तर यसमा राज्यले करदातालाई बुझाउन त सक्नु पर्यो नि ।

कर तिर्दा पाउने सुविधा वा भनौं यस्तो सहुलियत पाइन्छ भनेर त्यो मान्यतालाई स्थापीत गराउनुपर्छ । कोभिडका कारण अहिले सबै किसिमका व्यवसायहरु अनलाइन प्रणालीमा गइरहेका छन् । कर प्रणालीलाई पनि समय अनुकुल परिमार्जन गर्नका लागि लगानी गर्नुपर्ने हुन्छ । राज्यका लागि यो ठूलो अवसर पनि हो । यसमा हामीले सरकारसम्म आवाज पुर्याउने काम गर्छौं ।

  • महासंघको चुनावका बेला हुने गलत किसिमका अभ्यासहरुलाई तपाईले कसरी लिनु भएको छ ?

पहिलो कुरा के हो भने महासंघ राजनीति गर्ने थलो होइन । विशुद्ध व्यवसायिक वातावरणयुक्त संस्था हो । त्यसैले स्वच्छ किसिमले निर्वाध रुपमा निर्वाचन पूरा हुने वातावरण हामीले तयार गर्नुपर्छ । जसले सक्षम व्यक्तिलाई मात्र महासंघको नेतृत्वमा पुग्ने अवस्था बनोस् ।

राजनितिक कम भएपछि नै संस्थाबाट हुने काममा धेरै आशा र अपेक्षा गर्न सकिन्छ । मतदातालाई दिग्भ्रमित पार्दै राजनिति गरेर आउन खाज्ने हो भने त्यसले संस्थालाई कमजोर बनाउँछ । यो अवस्था चिर्नका लागि हामीले आजैदेखि पहल गर्न जरुरी छ जसले संस्था आफ्नो उद्धेश्य अनुसार अघि बढ्न सकोस् ।
यसमा अबको नयाँ नेतृत्व मात्र नभई अर्को नेतृत्वले पनि पहलकदमी लिनुपर्छ । परिवर्तन आजको भोलि हुँदैन, समय लाग्छ । र मतदाता अनि सदस्य र शुभेच्छुकहरुले पनि यो विषयमा नेतृत्वलाई हरेक समयमा घच्घच्याउने काम गरिरहनुपर्छ । हामी त्यसमा ध्यान केन्द्रित गर्दै अघि बढ्ने छौं ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।