उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सूची विधान विपरित


नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुन गईरहेको मतदानमा १ हजार ११६ जनाले मतदान गर्ने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार जिल्ला नगर, एसोसिएट्स, वस्तुगत र द्विराष्ट्रियका गरी १ हजार ११६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गर्ने छन् ।

महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फका ९०४ सदस्य संस्थाका प्रतिनिधिहरुको नाम सार्वजनिक गरेको हो । महासंघको विधानले सदस्य संस्थाबाट कम्तीमा पनि महाप्रबन्धक वा सोभन्दा माथिका प्रतिनिधि मात्र मतदानका लागि योग्य हुने व्यवस्था गरेकोमा निर्वाचन समितिले संस्थालाई प्रतिनिधित्व गर्ने भन्दै पत्र लिएर आएका सबैलाई मतदान अधिकार दिएको छ ।

अर्कातिर महासंघको नियमावलीले प्रोक्सीबाट मतदान गर्न नपाइने प्रष्ट व्यवस्था गरेकोमा निर्वाचन समितिले सबै उम्मेदवारहरुले ल्याएका प्रोक्सीलाई पनि मतदाताको रुपमा स्वीकृत गरेको छ ।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट ६ वटा सदस्य संस्थाका प्रतिनिधिले पनि मतदान गर्ने महासंघ सचिवालयले जनाएको छ ।

बस्तुगततर्फ १०१ वटा प्रतिनिधि संघहरुका प्रतिनिधि र जिल्ला नगर तर्फबाट १०५ जना अध्यक्षहरुले मतदान गर्ने छन् । जिल्ला नगरतर्फ केही नयाँ सदस्यहरु रहेकोमा विधानमा भएको व्यवस्था विपरित बर्दिवास उद्योग वाणिज्य संघलाई मताधिकार दिने तयारी भएकोमा नामावली सार्वजनिक गर्दा भने सूचीबाट हटाइएको छ ।

महासंघको विधान र नियमावलीमा भएको व्यवस्था अनुसार निर्वाचन प्रकृयाका लागि एशोसिएट्सतर्फबाट सार्वजनिक गरिएका अधिकांस प्रतिनिधिहरुको नाम अवैध देखिन्छ । महासंघको विधानले निर्वाचन प्रकृयामा सहभागि हुनका लागि एसोसिएट्स सदस्य संस्थाको कम्तीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदको व्यक्तिले मात्र मतदान गर्न पाउने र त्यसका लागि सदस्य संस्थाले महासंघ जानकारीलाई पूर्व जानकारी गराउनु पर्ने व्यवस्था छ । तर महासंघले सार्वजनिक गरेको सूचीमा एकै व्यक्तिहरुले धेरै ठाउँबाट प्रेक्सी लिएको र उक्त व्यक्ति महासंघको सदस्य संस्थाको सहायक महाप्रबन्धक वा सोभन्दा माथिको जिम्मेवारीमा नरहेको देखिन्छ ।

महासंघको नियमावलीले प्रोक्सीबाट मतदान गर्न नपाउने प्रष्ट व्यवस्था गरेको छ । तर एसोसिएट्सका सबैजसो मतदाताहरु प्रोक्सीबाट ल्याइएका छन् ।

महासंघ निर्वाचन समितिले बिहीबार बिहान ११ बजे मतदाताहरुको प्रारम्भिक सूची सार्वजनिक गर्ने भनिएकोमा दिनभरी विबरण सार्वजनिक गरिएको थिएन । एकै पटक बिहीबार रातीभन्दा पछिको समयमा निर्वाचन समितिले एकै पटक प्रारम्भिक र अन्तिम नामावली सार्वजनिक गर्दै दाबी बिरोध पछिको सूची रहेको जनाएको छ ।

सबै उम्मेदवाहरुले प्रोक्सी तथा प्रतिनिध विधान विपरित जम्मा पारेका हुनाले आफ्नो मत तल माथि हुने डरले गलत सूचीका बिरुद्ध दाबी बिरोध नगरी तैं चुप मै चुप गरेर बसेका छन् ।

महासंघले सार्वजनिक गरेको मतदाताको सूची यहाँ क्लिक गरेर हेर्न सकिन्छ …

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।