नेप्सेको नाफा साढे ३३ करोड, सरकारले मात्रै साढे १४ करोड लाभांश पाउने

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको नाफावाट शेयरधनीलाई २५ करोड बराबरको लाभांश बाँड्ने भएको छ । नेप्सेले १० करोड बराबरको बोनस र १५ करोड रुपैयाँ नगद लाभासं बाड्ने भएको हो ।

गत आर्थिक वर्ष ०७६।७७ मा नेप्सेले ३३ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो। जसमध्ये नेप्सेले चुक्तापूँजीको २० प्रतिशत बोनस र ३० प्रतिशत नगदगरी कुल ५० प्रतिशत अर्थात २५ करोड बराबरको लाभांश वितरण गर्नेछ ।

नेप्सेले वितरण गर्ने कुल २५ करोड लाभांशमध्ये सरकारले बोनस तथा नगद सहित १४ करोड ६६ लाख ५६ हजार १२५ रुपैयाँ बराबरको लाभांश पाउनेछ । जसमध्ये ५ करोड ८६ लाख ६२ हजार ४५० रुपैयाँ बराबरको बोनस र ८ करोड ७९ लाख ९३ हजार ६७५ रुपैयाँ नगद लाभांश लग्नेछ । नेप्सेमा सरकारको ५८.६६ प्रतिशत शेयर हिस्सा छ ।

सरकार सहित नेप्सेमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी, सञ्चय कोष, प्रभू बैंक, लक्ष्मी बैंक तथा पुराना धितोपत्र दलाल कम्पनीको पनि लगानी रहेको छ ।

नेपाल राष्ट्र बैंकले नेप्सेको गत आर्थिक वर्षको नाफाबाट १ करोड ४५ लाख ९९ हजार बराबरको बोनस र २ करोड १९ लाख रुपैयाँ नगद प्रतिफल पाउनेछ।नेप्सेमा राष्ट्र बैंकको १४.६० प्रतिशत हिस्सा छ । त्यसैगरी कर्मचारी सञ्चय कोषको १० प्रतिशत रहेको शेयर हिस्साका आधारमा एक करोड रुपैयाँ बराबरको बोनस र एक करोड ५० लाख नगद पाउनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत शेयर हिस्साका आधारमा ६१ लाख ३६ हजार बराबरको बोनस र ९२ लाख ४ हजार रुपैयाँ नगद, लक्ष्मी बैंक र प्रभू बैंकको ५ प्रतिशतका दरले स्वामित्व रहेको हुनाले दुबै संस्थाले ५० लाख बराबरको बोनस र ७५ लाख रपैयाँ नगद लाभांश पाउने भएका छन । त्यसैगरी धितोपत्र दलाल कम्पनीहरुको समेत ०.६ प्रतिशत शेयर स्वामित्व रहेको हुनाले ६ लाख बराबरको बोनस शेयर र ९ लाख नगद लाभांश पाउने भएका छन् ।

नेप्सेको सञ्चालक समितिले गरेको सो निर्णय आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले लाभांस पाउनेछन । नेप्सेले अगामी २९ गते साधारणसभा गर्ने भएको छ ।

साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजी ५० करोडको २० प्रतिशतका दरले हुन आउने १० करोड बराबरको बोनस शेयर वितरणपछि नेप्सेको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।