एनआईसी एशिया बैंकलाई शेयर बेच्न सकस, मूल्य घटाएर निकाल्यो लिलामी

0
Shares

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीको ६ लाख २३ हजार ८८० कित्ता संस्थापक शेयरको लिलामीमा राखेको छ ।

कम्पनीले यसअघि बिक्रीमा ल्याइसकेको सबै शेयर बिक्री नभएपछि पुस २७ गतेदेखी पुन बिक्रीमा ल्याएको हो । यसअघि बैंकले गत पुस १९ गते आइतबारबाट पुस २४ गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेगरी शेयर लिलामीमा राखेको थियो ।

बैंकले नागरिक लगानी कोषको २ लाख ०२ हजार ५६० कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १ लाख ०२ हजार ८६६ कित्ता, एशियन लाईफ इन्स्योरेन्सको कम्पनीको १ लाख २८ हजार २९० कित्ता र सूर्या लाईफ इन्स्योरेन्सको १ लाख ८९ हजार ६६४ कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।

बैंकले नागरिक लगानी कोषको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५३० रुपैयाँ तोकेको छ । यसअघि १ हजार ७१५ रुपैयाँमा बिक्रीमा राखेको थियो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ५०८ रुपैयाँमा झारेको छ । यसअघि ५५० रुपैयाँ तोकेको थियो । यस्तै एशियन लाईफ इन्स्योरेन्सको कम्पनीको ४३३ राखेको छ । अघिल्लो पटक ४६९ रुपैयाँमा बिक्रीमा राखेको थियो । यस्तै सूर्या लाईफ इन्स्योरेन्सको ३५० रुपैयाँ तोकेको छ । सूर्या लाइफको मूल्य भने प्रतिकित्ता १३ रुपैयाँ बढाएको छ ।

शेयर खरिद गर्न ईच्छुक शेयरधनीले एनआईसी क्यापिटल बबरमहल काठमाण्डौं, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली, विराटनगर ३ मोरङ्ग, आदर्शनगर वीरगंज पर्सा, महेन्द्र पुल पोखरा, श्रवनपथ वुटवल, हस्पिटल लाइन धनगढी, र विरेन्द्रचोक सुर्खेतबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।