आठ महिनामा जीवन बीमा कम्पनीद्धारा ८२ अर्ब बीमा शुल्क संकलन, नेपाल लाइफको सबैभन्दा धेरै

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आवको ८ महिनासम्ममा ८२ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आवको फागुन मसान्तसम्ममा ८२ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा २८ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क, ५३ अर्ब ७९ करोड रुपैयाँ नविकरण बीमा शुल्क र ३२ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क गरी कुल ८२ अर्ब २० करोड रुपैयाँ संकलन गरेका हुन् ।

चालु आवको फागुन महिनासम्ममा बीमा कम्पनीमा ८१ लाख ८७ हजार ९६८ वटा बीमालेख जारी भएका छन् । यस अवधिमा ७ लाख २३ हजार ८१७ वैदेशिक रोजगार बीमालेख र जीवन बीमालेख ७४ लाख ६४ हजार १५१ वटा गरी सो मात्रामा बीमालेख जारी भएका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको फागुन मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २२ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले फागुन महिनामा मात्रै २ अर्ब रुपैयाँ बीमा शुल्क उठाउन सफल भएको छ ।

दोस्रो ठूलो बीमाशुल्क लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले संकलन गरेको छ । कम्पनीले १० अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको हो । समितिको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा एलआईसीपछि नेशनल, राष्ट्रिय बीमा संस्थानले धेरै बीमा शुल्क संकलन गरेका छन् । फागुन मसान्तसम्ममा नेशनलले ७ अर्ब ८३ करोड र राष्ट्रिय बीमा संस्थाने ६ अर्ब ५२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, युनियन र एशियनले ४ अर्ब भन्दा माथि बीमा शुल्क संकलन गरेका छन् । युनियन र एशियनले क्रमशः ४ अर्ब ६७ करोड र ४ अर्ब ४ करोड रुपैयाँ संकलन गरेका हुन् । यस अवधिसम्ममा मेट लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने सूर्या, प्राइम, गुराँस, सिटिजन र ज्योति लाइफ इन्स्योरेन्सले दुई अर्ब भन्दा माथि बीमा शुल्क संकलन उठाउन सफल भएका छन् ।

सूर्या लाइफले २ अर्ब ९६ करोड र प्राइमले २ अर्ब ७५ करोड, गुराँसले दुई अर्ब ६८ करोड र सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क संकलन उठाउन सफल भएका छन् ।

यस अवधिमा ६ कम्पनीले भने एक अर्बभन्दा बढी दुई अर्बभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । जहाँ ज्योति, रिलायबल, रिलायन्स, आइएमई, सन् नेपाल र सानिमा लाइफ रहेका छन् । यी कम्पनीले क्रमशः एक अर्ब ९९ करोड, एक अर्ब ९५ करोड, एक अर्ब ७४ करोड, एक अर्ब ६१ करोड, एक अर्ब ४१ करोड र एक अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

यसैगरी एक अर्ब भन्दा कम बीमा शुल्क उठाउने कम्पनीमा भने प्रभु र महालक्ष्मी लाइफ रहेका छन् । यी कम्पनीले क्रमशः ९८ करोड र ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

  • फागुनमा मात्रै ८ अर्ब

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले फागुन महिनामा मात्रै ८ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । फागुन महिनामा जीवन बीमा कम्पनीहरुले ६ लाख ३६ हजार ६३३ बीमालेख जारी गरेर उक्त रकम संकलन गरेका हुुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार फागुन महिनामा पनि नेपाल लाइफले नै सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले दुई अर्ब ४६ करोड रुपैयाँ कुल प्रिमियम संकलन गरेको छ ।

नेपाल लाइफ बाहेक अन्य सबै कम्पनीले फागुनमा एक अर्ब भन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।