शिखरका सीईओ पाण्डेको नियुक्तीमा स्टे अर्डर जारी गर्न सर्वोच्चद्धारा अस्वीकार

0
Shares

सर्वोच्च अदालतले शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा दीप प्रकाश पाण्डेको नियुक्ति बदर गर्न माग गर्दै परेको रिट उपर स्टे अर्डर जारी गर्न अस्वीकार गरेको छ ।

पाण्डेको नियूक्ती रोक्न अन्तरिम आदेश माग गर्दै परेको निवेदन उपर सर्वोच्च अदालतका न्यायाधिश द्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।

यससँगै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा दीप प्रकाश पाण्डेलाई सीईओका हैसियतले कामकाज गर्न/गराउन बाटो खुलेको छ । यद्यपी पाण्डेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्मका लागि मुद्दा भने जारी नै रहनेछ ।

बीमा समितिले जारी गरेको संस्थागत सुशासन विरुद्ध गएर कम्पनीको सञ्चालक समितिले पाण्डेलाई सीईओ नियुक्त नियुक्ति गरेको र गलत तरिकाले आएको नियुक्तीको प्रस्ताव स्वीकृत गरेकाले बीमा समितिमाथि कारवाही गर्न माग गर्दै अधिवक्ता माधव गौतमले शिखर इन्स्योरेन्स कम्पनी र बीमा समितिलाई विपक्षी बनाएर गत कार्तिकमा सवोच्चमा रिट दायर गरेका थिए ।

रिटमा शिखर इन्स्योरेन्समा पाण्डे दुई पटक भन्दा बढी कार्यकाल सीईओ भइसकेकोले पुनः नियुक्त दिने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको निर्णय त्रुटीपूर्ण रहेको भन्दै खारेज गर्न माग दाबी गरिएको थियो ।

सञ्चालक समितिले गरेको नियुक्ती बीमा समितिको संस्थागत सुशासन निर्देशिका २०७५ बमोजिम योग्य भएको भन्दै समितिले गत असोजमा पाण्डेलाई पुनः सीईओ नियुक्तीका लागि अनुमति दिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ वैशाख २०७८, सोमबार  १५ : ०६ बजे