उद्योग सञ्चालन उत्साहजनक रहे पनि अर्थतन्त्र प्रभावित हुन सक्छ – राष्ट्र बैंक


गत वर्षको बन्दाबन्दीमा धेरै उयद्योग तथा कलकारखाना पूर्ण रुपमा बन्द भएकोमा यस पटकको बन्दाबन्दीमा न्युन संख्यामा मात्र उद्योगहरु सञ्चालन हुन नसकेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार गत वर्ष ४ प्रतिशत हाराहारीमा उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा यस पटकको बन्दाबन्दीमा ८१ प्रतिशतभन्दा धेरै उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिएको हो ।

“सर्वेक्षणमा सहभागी विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शत प्रतिशत उद्योग÷व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ । हालसम्म पनि ४.२ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालनमा आउन नसकेको देखिन्छ” प्रतिवेदनमा उल्लेख छ ।

गत २०७७ असारको तुलनामा उद्योग व्यवसायहरुको उत्पादन तथा कारोबारको अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन कारोबार बढेको पाइएको छ । होटल तथा रेष्टुरेन्टमा भने उत्पादन तथा कारोवारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ, जुन अन्य व्यवसायहरु भन्दा न्युन हो ।

गत २०७७ असारको तुलनामा उद्योग व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग व्यवसायको उत्पादन तथा कारोबार बढेको भए पनि कोभिड महामारी आउनु अगाडिको अवस्थामा पुगिनसकेको देखिएको छ ।

गत २०७७ असारको तुलनामा उद्योग व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारी अगाडिको अवस्थामा भने अझै पुग्न नसकेको प्रतिवेदनमा उल्लेख छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग व्यवसायहरुले २०७८ बैशाखमा ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको अध्ययनले देखाएको हो ।

मझौला तथा ठूला उद्योग व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । पूर्ण रुपमा सञ्चालनमा रहे पनि मझौला तथा ठूला उद्योग व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेकले यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको हो ।

गत २०७७ असारको तुलनामा उद्योग व्यवसायहरुको औसत तलब ज्याला खर्चमा वृद्धि भएको अध्ययनले देखाएको छ । अध्ययन अनुसार कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ बैशाखमा आइपुग्दा ८८.५ प्रतिशत पुगेको छ ।

२०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग व्यवसायहरुको औसत तलब ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग व्यवसायहरुको औसत तलब ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

२०७७ असारको तुलनामा उद्योग व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग व्यवसायको औसत तलब ज्याला खर्च वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागी अधिकांश उद्योग व्यवसायहरुले बजारमा माग घटेर कारोबारमा ह्रास आएको, पुनरकर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको लगायत कारणले व्यवसाय सञ्चालनमा असहज भएको बताएका छन् ।

उद्योग व्यवससाय सञ्चालनमा ल्याउन नसकेका मध्ये केहीले व्यक्तिगत कारणले गर्दा पुनः व्यवसाय सुरु गर्न नचाहेको बताएका छन । केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् । सञ्चालनमा आउन नसकेका अधिकांश उद्योग व्यवसायले उद्यमी लक्षित पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

कोभिड १९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ । कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलयामान बनाइरहनु पर्नेमा प्रतिवेदनले जोड दिएको छ ।

२०७८ बैशाख ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत गरिएको अध्ययनमा ५६२ उद्योगी व्यवसायीले सहभागिता जनाएका थिए । गत असारमा गरिएको सर्वेक्षणमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत मात्र यो सर्वेक्षणमा सहभागि भएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।