विद्युतीय सवारी उद्योग तथा एसेम्बल नेपालमै गरिने


इन्धन आयात निरुत्साहित गर्दै विद्युतीय सवारी साधन प्रेत्साहन गर्नका लागि सरकारले स्वदेशमा विद्युतीय सवारी एसेम्बलिङ तथा उत्पादनलाई प्रेत्साहन गर्ने भएको छ । सरकारले विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बलिङ गर्ने प्रतिष्ठानलाई स्वदेशमै सवारीसाधनमा प्रयोग हुने सहायक सामग्रीको उत्पादनमा प्रेत्साहन गर्ने भएको हो ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधन एसेम्ब्लिङ प्रतिष्ठानलाई सहुलियतका साथै आवश्यक पर्ने जग्गा सरकारले निःशुल्क उपलब्ध गराउने बताएका हुन् ।

विद्युतीय सवारी साधन स्वदेशमै उत्पादन तथा एसेम्बल गर्नका लागि विश्वका शीर्ष १० कम्पनीलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने पनि पौडेलले बताए ।

पेट्रोलियम सवारी साधन विद्युतीय सवारीमा रुपान्तरण गराउन प्रोत्साहन गरिने उनले बताए । जस अनुसार पेट्रोलियमबाट विद्युतीयमा रुपान्तरण हुने सवारी साधनलाई पाँच वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट हुनेछ ।

आगामी दश वर्ष भित्र पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजना कार्यान्वयनमा ल्याउने र यसका लागि कार्यदल गठन गर्ने अर्थमन्त्री पौडेलले बताए ।