प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ ।
प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिसैद्धान्तिक छलफल शुरु भएको हो ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत गरेका थिए । मुख्यमन्त्री शेरधन राईले बिहीबार नै सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम टेबल गरेका थिए ।
प्रदेश सभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सदस्यहरु उमीता विश्वकर्मा, केदार कार्की, धीरेन्द्र शर्मा, प्रतापप्रकाश हाङ्गाम, रामकुमार राई, शिवनारायण गनगाँई, शेखरचन्द्र थापा, सञ्जाकुमारी दनुवार र सूयर्माराज राईले सरकारको नीति तथा कार्यक्रम जनता र जनप्रतिनिधिलाई ढाँट्ने दस्तावेज भएको बताए ।
उनीहरुले प्रदेश सभा गठन भएको समयमा प्रदेशको आर्थिक वृद्धि दर ७.४, त्यसपछि ६.६ र अहिले ३.४ भएपछि कसरी प्रदेश समृद्ध हुन्छ भनी प्रश्न गरे । आकर्षक नारा राख्ने र त्यसलाई पूरा गर्न बजेटको व्यवस्था नहुँदा समस्या देखिएको उनीहरुको भनाइ छ ।
उनीहरुले नीति तथा कार्यक्रममा कमिलादेखि हात्तीसम्मको गफ रहेको तर त्यसको पूरा गर्ने खासै योजना र बजेट नदेखिएकाले सरकार यर्थाथपरक बजेट ल्याउनुपर्ने सुझाव दिँदै सरकार सत्य र तथ्यको आधारमा बजेट ल्याउनुपर्नेमा जोड दिए ।
अर्का सदस्य विमल कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भन्दै सोच र योजना नबनाई विकासमा फड्को मार्न नसकिने बताए। उनले विगतमा गैर बजेटरी खर्चले वास्तविक योजनाहरु धरापमा परेकाले अव उप्रान्त कार्यक्रम र योजना बाहेकमा खर्च नगर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रदेश सभाको अर्को बैठक भोलि शनिबार बिहान ११ः३० मा बस्ने छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया