मनकामना स्मार्ट लघुवित्तको आईपीओ लगानीकर्तालाई ‘हात्तिको मुखमा जिरा’

0
Shares

असार १७ गते बिहीबार अर्थात भोलि देखि सर्वसाधारणमा बिक्रीमा आउन लागेको मनकामना स्मार्ट लघुवित्तको प्राथमिक शेयर (आईपीओ) लगानीकर्ताहरुका लागि नेपाली उखान ‘हात्तिको मुखमा जिरा’ हुने देखिएको छ । प्राथमिक बजारमा उच्च आकर्षण बढेर उच्च आवेदन परिरहेको सन्दर्भमा बिहीबारदेखि बिक्रीमा आउने उक्त आईपीओमा सो उखान लागू हुने भएको हो ।

पछिल्लो समय जीवन विकास लघुवित्तको आईपीओमा साढे २० लाख ८७ हजार वटा बढी आवेदन परेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । यस आधारमा मनकामना स्मार्ट लघुवित्तले जारी गर्ने आईपीओ १०० जनामध्ये २ जनाले शेयर पाउन पनि मुस्किल हुने देखिएको छ ।

लघुवित्त कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गरेको छ । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणमा बिक्रीमा आउँदैछ ।

लघुवित्तको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ता बाँडफाँड हुनेछ । यसरी १० कित्ता बाँडफाँड गरी बाँकी रहेको २ कित्ता शेयर १० कित्ता शेयर पाउने आवेदकमध्ये २ जनाले १।१ कित्ता गरी ११ कित्ता पाउनेछन् ।

न्यून आवेदकका कारण एक सय जनामा २ जना आवेदकले शेयर पाउने र पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सि-आश्वा वापत निःशुल्क उपलब्ध गराइरहेको सेवामा समेत शुल्क लिन थालेको सन्दर्भमा  यस लघुवित्तको शेयर भर्नु भनेको बैंक तथा वित्तीय संस्थालाई सि आश्वा शुल्क बुझाउने मात्र जस्तो देखिएको छ ।

पछिल्लो समय डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ३६ लाख ३१ हजार ५९८ पुगेको छ । जीवन विकास लघुवित्तको आइपीओ खुल्दा ३५ लाख ५७ हजार रहेको डिम्याट खाताको संख्या पछिल्लो निष्काशनको अवधिमा मात्रै ७५ हजारले बढेको हो । यस आधारमा पनि न्यून संख्यामा निष्काशनमा आउने आईपीओले लगानीकर्तालाई निराश मात्रै बनाउने अनुभवि लगानीकर्ताहरु बताउँछन् ।

रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर बनेको मनकामना स्मार्ट लघुवित्तको जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ । लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत आईपीओ निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।