बीमा समितिको एकीकृत सफ्टवेयर अझै सञ्चालनमा आउन सकेन

0
Shares

बीमा समितिले सबै काम अनलाइन प्रविधि मार्फत गर्ने गरी ल्याउन लागेको एकीकृत सफ्टवेयर अझै सञ्चालनमा ल्याउन सकेको छैन ।
एकीकृत सफ्टवेयर निमार्ण कार्यमा जुटेको लामो समय भईसक्दा पनि समितिले उक्त सफ्टवेयर सञ्चालनमा ल्याउन नसकेको हो ।

समग्र बीमा क्षेत्रलाई प्रविधिमैत्री र बीमा क्षेत्रका सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले एकिकृत सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने तयारीको काम समितिले २०७६ असारदेखि गरिरहे पनि अझै सञ्चालनमा आउन नसकेको हो ।

६ महिनामै सफ्टवेयर सञ्चालनमा ल्याउने लक्ष्य रहेता पनि सफ्टवेयर निमार्ण कम्पनीले गरेको ढिलाईका कारण लक्ष्य भेट्न नसकेको समितिको भनाई छ ।

अनिश्चितकालीन अवस्था आउँदा वा अन्य प्राकृतिक प्रकोप, बन्द हड्तालले गर्दा कार्य गर्न नसकेमा सफ्टवेयर निमार्ण कम्पनीले सो घटनाको प्रमाणसहित आपसी समझदारीमा प्रथम पटक म्याद थप गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप कम्पननीले ३ महिना समय थप गरेको थियो ।

सफ्टवेयर प्रणाली निमार्ण कम्पनीका कर्मचारीलाई कोरोना भाइरसको संक्रमणका कारण तोकिएको समयमा नै सफ्टवेयर सञ्चालनमा ल्याउन नसकेको समितिको दाबी छ ।  समितिका अनुसार सफ्टवेयर प्रणाली निमार्ण कम्पनीले आफ्नो तर्फबाट काम सम्पन्न गरेपछि बीमा समितिसँग फाइनल काम गर्नुपर्छ, जुन काम बाँकी छ ।

साउन महिनाको १ गतेदेखि औपचारिक रुपमा उक्त एकीकृत सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने तयारी भईरहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेण्ट इन्फरमेसन सिस्टम (आईआरएमआइएस) अहिले सञ्चालनको अन्तिम चरणमा पुगेको उनले बताए ।

समितिले बीमा कम्पनीबाट प्राप्त हुने सबै खालका प्रतिवेदन अनलाइनबाट उपलब्ध गराउनका लागि एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याउन लागेको उनले बताए । उनका अनुसार उक्त सफ्टवेयर सञ्चालनमा आएपछि समितिमा कम्पनीमार्फत आउने सबै खाले कागजातहरु अनलाइन मार्फत आउनेछन् ।

समितिसँग सफ्टवेयर नहुँदा कम्पनीबाट प्राप्त हुने कागजात हराउने, कागजातहरु राख्ने ठाँउको अभाव हुने समस्या रहँदै आएका छन् । तर, उक्त सफ्टवेयर सञ्चालनमा आएपछि भने यी सबै समस्याको समाधान हुने विश्वास समितिले लिएको छ ।

अघि समितिले २०७८ साल बैशाख २ गतेदेखि उक्त सफ्टवेयर सञ्चालनमा ल्याउने तयारीमा लागि परेको थियो । सफ्टवेयर निमार्ण कम्पनीले चैत्र महिनाको २१ गते सफ्टवेयर हस्तान्तरण गर्ने भनेको थियो ।

२०७६ असार १६ गते बीमा समितिले एकीकृत सफ्टवेयर प्रणाली निमार्णका लागि ३५ दिने टेन्डर आह्वान गरेको थियो । २० लाख रुपैयाँको लागतमा “आईआरएमआइएस” नामक सफ्टवेयर निर्माणको काम दर्शन टेक कम्पनीले पाएको थियो ।

समितिले ल्याउन लागेको एकीकृत सफ्टवेयरलाई ‘आईआरएमआईएस’ इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सेन्टर नाम दिएको छ । एकीकृत सफ्टवेयरमार्फत बीमा कम्पनीहरुले आफ्नो हरेक प्रतिवेदन अनलाइन मार्फत पठाउन सक्नेछन् ।

उक्त सफ्टवेयरमार्फत समितिलाई बीमकहरुले त्रैमासिक वित्तीय विवरण, वार्षिक प्रतिवेदन लगाएतका सम्पूर्ण विवरणहरु पठाउन सहज रुपमा पठाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।